सूरज रोसूरि
सिलगढ़ी
बिहानको मिर्मिरे घाम
राम्ररी खस्न नपाई
धर्तिमा खस्यो अँध्यारो।
बज्दा-बज्दै घण्टीहरू
बन्द भयो
बन्द भयो प्रार्थनाका नादहरू।
सबै स्तब्ध-भावशून्य
विलापहरूमा परिणत भयो
हिजो बाँचेका आनन्दहरू-खुशीहरू
खोइ त्यो अभयहस्त
जसको छहारीमा मैले झुक्न सिकें
जसको अंगालोमा मैले बाँच्न सिकें।
खोइ तो छहारी
खोइ त्यो अँगालो?
मलाई थाहा थिएन
विश्वास अनि आस्थाको ठूलो रुख
त्यो परिवर्तनको
ढल्छ भन्ने
ढल्यो रुख
सत्य, धर्म, प्रेम, शान्ति र अहिंसाले
लटरम्म फलेका फलहरू बोकेर
सुन्दर-सुन्दर फूलका रङ्गहरू पोतेर
हिलो थियो यहाँ जहीं-तहीं
हिलै-हिलो छ अहिले पनि यहाँ
कमलजस्तै बाँच्न सक्नुपर्ने
सुवाक्यका वाक्यहरू सुनेका कानहरू
अहिले रूनु र आलाप गर्नुका आवाजहरूले
डम्म डम्म छन्।
सुनसान
अनि केही छैनको बोध छ हामीसित
केही गुमाउनु - केही हराउनुको इतिहासका पानाहरूमा।
मैले देखें
हामीसित जानुका धेरै आलापहरू रहेछन्
हामीसित नहुनुका धेरै दुःखहरू रहेछन्।
मिथ्या पनि होइन
भ्रम भन्न पनि मिल्दैन
यथार्थ यही हो
'ईश्वरको रूप संसार हो।'
यस्तो पनि एउटा घटना भयो
जहाँ हरेक अखबारका पानाहरूमा
हेडलाइन बनेर प्रकाशित भयो
ईश्वरको मृत्यु।