किरण स्याङदेन
दार्जीलिङ
ध्यान शब्दसित हामी सानैदेखि परिचित छौं। जस्तै ध्यान लगाएर सुन, ध्यान लगार पढ़ वा ध्यान सित काम गर इत्यादि। निःसन्देह हिड़्दा ध्यान लगाएर पाइला चालेनौ भने खट्टा बाटोमा नपरेर खाल्डोमा पर्नसक्छ। ध्यानसित कुरा सुनेनौ भने कुराको अर्थ बेअर्थ हुनजान्छ। यसरी हाम्रो जीवनको हरेक व्यवहार तथा गतिविधिहरुमा ध्यानको भूमिका सर्वोपरि देखिन्छ। बाटो निर्माण गर्ने एक निकाय ग्रेफले सड़कको भित्तामा लेखेको रहेछ, 'जहाँ ध्यान हटा वहाँ दुरटना।' वास्तवमा यो सन्देश सड्कमा वाहन हाक्ने चालक दाज्यू-भाइहरुलाई मात्र नभार जीवनरूपी वाहन हॉकने हामी सबै मानवहरूलाई पनि हो। सन्त श्री विनोवा भावेले भान्नुभएको रहेछ - "जीवन को फलमूला M2A हो। अर्थात् मेडिटेसन दई प्रतिशत एक्सन एक प्रतिशत" तर सांसारिक जीवनमा सफलता र उपलब्धिहरुको निम्ति ध्यानको जति महत्व छ त्यसभन्दा अति महत्व आध्यात्मिक जीवनमा हुन्छ। कारण आध्यात्मिक यात्रा अन्तरङग यात्रा हो। अन्तरबोध हो, अनन्त हो।
साई अनुयायी एवं साई संगठनका सदस्यवर्गले पालन गर्नुपर्ने नौवटा आचरणहरू छन्। जहाँ प्रथममा नै भनिएको छ, 'प्रत्येक दिन जपम् एवं ध्यानम्।' यो आचरणलाई चार्टरमा एक नम्बरमा राखिनमा निश्चय यसको विशेष महत्व छ। युगावतार साईनाथ स्वयंले ध्यान वाहिनी पुस्तक लेख्नुभयो। जुन पुस्तक आध्यात्मिक साधकहरूको निम्ति एक अमूल्य उपहार हो। जहाँ भगवान् लेख्नुहुन्छ - 'सम्पूर्ण श्रद्धा तथा सम्पूर्ण विश्वाससित सक्रियता र अदम्य उत्साहको साथ विधिपूर्वक ध्यान गर्नुपर्छ। मानिसले आफ्नो आन्तरिक एवं बाह्य दुबै जीवन तेजस्वी बनाउन चाहन्छ भने ध्यान साधना गर्नुपर्छ। यही सर्वश्रेष्ठ साधना हो जो उसले गर्न सक्छ।' विश्वमा आज मानव समुदाय सबैभन्दा संकटपूर्ण अवस्थामा छ। आन्तरिक शिकार अनि बाह्य प्रदूषणका कारण मानव जीवन तनाउपूर्ण भएको छ। यस्तो अवस्थामा ध्यान साधना सुरक्षाकवच सरह हुँदछ। विधिपूर्वक निरन्तर गरिएको ध्यान साधनाले शरीरमा विशेष ऊर्जा उत्पन्न हुनाले साधकमा रोग प्रतिरोधक क्षमताको वृद्धि हुँदछ। मन मस्तिष्क शान्त हुने हुँदा व्यावहारिक जीवन सन्तुलित रहन्छ। भगवान् बाबाको शब्दमा भन्नु हो भने (ध्यान वाहिनी मा बाबा भन्नुहुन्छ), "बिना औषधि प्रयोग रोग निवारण गर्ने एक मात्र उपाय ध्यान साधना हो। यसले रोग निदानको क्षमता बढ्दछ। जस्तै कठिन रोग किन नहोस् यसको शक्तिले हटाउन सकिन्छ। मानव जीवनमा जे जति कठिनाइ अनि कष्टहरु छन् त्यसको निम्ति ध्यान सर्वबाधा निवारक, रामवाण हो।" तर ध्यान साधना शारीरिक एवं मानसिक सुख र शान्ति अनि भौतिक समृद्धिको लक्ष्य होइन। यी उपलब्धिहरू तीर्थयात्रा जाँदा बाटोमा भेटिने रमाइला दृश्यहरू हुन् जो स्वतः प्राप्त हुने नै गर्छ।
शास्त्रमा भनिएको छ, 'जन्तु नाम नर जन्म दुर्लभं।' बल, बुद्धि-विवेक र चेतनाको पुञ्ज मानव, केवल उमेरहरू व्यतीत गरेर जीवन जिउन मात्र जन्मेका होइनन्। जीवनको उद्देश्य सुख प्राप्ति हो भने सिद्धार्थ गौतमलाई राजमहल त्याग्ने आवश्यकता थिएन। भ्रम अनि मायाद्वारा निर्मित अनित्य अनि अस्थायी सुखको पछाड़ि मानव समूह युद्धरत छन्। जुन सुख र शान्तिसित दुःख र अशान्ति पनि मिश्रित हुँदा विशुद्ध सुख र शान्ति सम्भव छैन। मृगतृष्णा जस्ता भ्रान्तिमय यो सुखको भ्रम तोड़ने उपायको, कलाको नाम ध्यान हो। जसलाई ऋषि-महर्षिहरूले खोज अनि आविष्कार गरे। जो मानव समाजको निम्ति सौभाग्य हो। मानिसले स्वभावतः सुख-शान्ति चाहन्छ अनि दुःख र अशान्तिबाट टाढा बन्न खोज्छ। सुखसितको राग अनि दुःखसितको द्वेष प्रत्येकको स्वभाव भएको छ। तर हाम्रो रागको कारण न त सुख हामीसित सधै टाँसिर बस्छन त द्वेषको कारण दुःख हामीबाट दूर भाग्छ। कर्मको विधान अनि प्रकृतिको न्याय अनुरूप हामी यी दुवै सुख र दुःख भोग्न बाध्य हुन्छौं। तर ध्यान साधनाले साधकलाई कर्ताभावः अनि भोक्ताभावको स्तरबाट माथि उठाएर द्रष्टा भावको अवस्थामा पर्याउँछ। जहाँ राग र द्वेष दुवै मेटिएर साधकमा समताभाव विकास हुन्छ। यसैले महर्षि पातञ्जलीले भने 'योग चित्त वृति निरोधः।' अर्थात् योगले चित्तमा उठ्ने वृत्तिहरूलाई (उल्लास/उदास) निरोध गर्छ। ध्यान वाहिनीमा बाबाले लेख्नुभएको छ- 'ध्यानद्वारा साधकले भ्रान्ति उत्पन्न गर्ने अवरणहरुलाई एक एक गरी फ्याक्न सक्छ। जुन प्राप्तिलाई भगवान् बुद्धले ,'प्रज्ञा' भने। यसर्थ, ध्यान केवल शारीरिक एवं मानसिक व्यायाम होइन जसले हामीलाई अल्पकालीन सुख र शान्ति दिने गर्छ। वास्तवमा ध्यानले हाम्रो दृष्टि सम्यक बनाएर नित्य निरन्तर समभावमा प्रतिष्ठित गराउँछ। अहिले ध्यान साधनाको निकै प्रचार प्रसार भएको हामी देख्छौं। जो असल मात्र होइन उत्कृष्ट कुरा हो। ध्यान जस्तो रसिलो, गुनिलो विषयलाई प्राप्त गर्नु प्रत्येक व्यक्तिको जन्मसिद्ध अधिकार हो। तर ध्यान साधनाको महानता र गहनतालाई बुझेर यसलाई अति सचेततासित लिनुपर्छ। सम्पूर्ण दुःखबाट मुक्ति अनि परमसुख प्राप्तिको यो साधनालाई केही दिन, महिना वा वर्षको निम्ति मात्र नलिएर यो जीवनपर्यन्तको निम्ति निरन्तर हुनपर्दछ। समय, मुद्रा, आसन अनि एकाग्रताका साधनहरूको सहायतामा साधक बिस्तारै मौनताको गहनतामा प्रवेश गर्दछ। निरन्तर श्रद्धा, उत्साह अनि धैर्यसितको अभ्यासले उचित समयमा साधक देह बोधबाट, मन अनि बुद्धिको क्षेत्रबाट माथि वा पर पुग्दछ। भनौं, शरीर, मन एवं बुद्धिको सीमा पार गरी आत्मा वा चेनताको (चैतन्य) क्षेत्रमा प्रवेश हुन्छ। जहाँ साधक साक्षी भावको अवस्थामा रहेर पूर्ण विश्रान्ति एवं परमानन्दको बोध गर्दछ। तर ध्यान केही अवधिको निम्ति मनको विश्रान्ति मात्र पनि होइन। यदि त्यसो भयो भने यो केवल मानसिक व्यायाम सरह भयो। ध्यानको निरन्तर अभ्यासले साधकको मन निष्कलङ्क बनिन्छ, बुद्धि निष्पक्ष हुन्छ अनि चेतनाले जीवन र जगतलाई तटस्थ अवलोकन गर्दछ। यही अवस्थामा सायद भगवान बुद्ध आफूलाई 'तथागत भनी सम्बोधन गरे। जसले संपूर्ण तथ्यको अवगत हुन्छ उनी तथागत। वास्तावमा अज्ञानता नै दुःख हो, पीड़ा हो, वेदना हो। ध्यानले प्रज्ञाको जागरण गर्छ, अज्ञान नष्ट गर्छ। तब दुःखप्रति द्वेष रहँदैन, सुखप्रति राग पनि रहदैन। कारण दुवैको अनित्यता हामीलाई थाहा हुन्छ। अनित्य सुखसित कुनै प्रज्ञावान व्यक्तिले शक्ति राख्दै न त अनित्य दुःखसित द्वेष। यसरी अब हाम्रा सुख अखण्ड हुन्छ। यस्ता पूर्ण संयमित र सन्तुलित व्यक्तिले नै त्यो अखण्ड सत्तासित सदैव तादम्य राख्न सक्छ। यसरी हाम्रा ध्यान साधनाको सार्थकता यहाँ पूर्ण हुन्छ। तर साधकको धैर्य, निष्ठा र निरन्तरता भने सर्वोपरि हुन्छ। ध्यान वाहिनीमा भगवान् बाबा भन्नुहुन्छ -"ध्यान साधनाले दिव्य सन्तोष अनि सम्यक ज्ञान, अन्तर्दृष्टि, आत्मा साक्षात्कार, भगवानसित एकीकरण आदि प्राप्त हुनेछ। समस्त साधनाको मूलाधार ध्यान हो।" भगवानले ध्यान साधनाको महत्व जनाउँदै सिङ्गो ध्यान वाहिनी पुस्तक मात्र लेख्नु भएन तर असंख्यपल्ट 'जप ध्यान बिना संयोग नहीं' गाउँदै हामीलाई सन्देश दिइरहनुभयो। बाबा केवल हाम्रो उत्थान चाहनुहुन्छ। हाम्रो आनन्द नै भगवानले उहाँको आहार भन्नुभएको छ। वास्तवमा अवतारको अवतरणको मूल उद्देश्य नै मानवको उत्थान र आनन्द हो। अनि यसलाई प्राप्त गर्न सबैभन्दा सुलभ अनि उत्तम मार्ग ध्यान साधना हो भनी भगवान् भन्नुहुन्छ।