कृष्णसिंह मोक्तान
अवकाशप्राप्त आइजी (जेल)
पश्चिम बंगाल
यस युगका पूर्ण अवतार भगवान श्री सत्य साईं बाबा सर्वान्तर्यामी, सर्वशक्तिमान, सर्वविद्यमान एवं सर्व हृदयवासी हुनुहुन्छ। एक्काइसौं शताब्दी का अभूतपूर्व आश्चर्य मध्ये भगवान् बाबाको आविर्भाव नै सर्वश्रेष्ठ घटना हो। आश्चर्य पनि हो, दिव्यतापूर्ण पनि हो साथै भौतिकताको मायावी जादूमा फँसेका मानवहरूको निम्ति एक मात्र त्राण हो।
भगवान बाबाले आफ्ना इच्छा तथा सङ्कल्पद्वारा भक्तहरू चुन्नु हुन्छ, आफैमा लीन गराउनुहन्छ। हामीहरूले जति नै प्रयास अध्यवसाई एवं साधना गरे तापनि उहाँको इच्छाबिना कसैले पनि उहाँको सान्निध्य, सामीप्य अनि करुणा प्राप्त गर्न सक्ने छैनन्। हो, सम्पूर्ण रूपमा अहंलाई त्यागी उहाँमा समर्पित एवं उत्सर्जन हुनसके मात्र उहाँले त्यस भक्तलाई आफ्नो यन्त्र बनाई आफैमा लीन गराउनुहुन्छ।
उहाँको दर्शन, स्पर्श अनि सम्भाषणको निम्ति प्रशान्ति निलयम, पुट्टपर्ति पुग्न सक्नु पनि एउटा दीर्घ साधना, समर्पण अनि उहाँको इच्छा शक्तिको परिचायक हो। प्रशान्ति निलयममा भेटिएका १२३ वटा देशबाट विभिन्न जात, जाति, वर्ण, धर्मकर्म, आर्थिक, शैक्षिक स्तर अनि पेशामा आबद्ध बाबाका भक्तहरू "किन अनि कसरी पुट्टपर्ती आउन सके?" यस प्रश्नको उत्तरमा अद्भूत, आश्चर्यपूर्ण, रहस्यपूर्ण, अविश्वसनीय घटनाहरू, अलौकिक कुराहरू निर्धक्क प्रेम, स्नेह अनि विश्वाससित यी सौभाग्यवान् भक्तहरू बताउँछन्। प्रशान्ति निलयमका श्री सत्य साई पुस्तक विक्रेता केन्द्रमा विभिन्न भाषामा हजारौं, लाखौं पुस्तकहरू भगवानको जीवनी, सम्भाषण, भगवान्द्वारा लेखिएका ठेलीका ठेली वाहिनीहरू अतिरिक्त अनगन्ती उहाँका लीलाहरू उहाँका अलौकिक रोगनिवारण शक्ति, भक्तहरूमाथि वर्षनु भएका अनेकौं अनुग्रह, करुणा एवं अद्भूत कृपा र असम्भव घटनाहरूले पूर्ण पुस्तकहरू प्राप्त गर्न सकिन्छ। यी पुस्तकहरूले हामीलाई भगवान् बाबाको अतुलनीय, अन्यान्य दिव्यशक्ति अनि मानव मात्रलाई रूपान्तरण गर्नेशक्ति प्रदर्शन गर्छन्।
भगवानको अनुमति तथा आशीर्वाद प्राप्त गरेपछि १९७१ सालमा उहाँको दिव्य जीवनी सत्यम्, शिवम्, सुन्दरम् (खण्ड-१) मूल लेखक श्री एन. कस्तुरीद्वारा लिखित, मैले नेपाली भाषामा अनुवाद गरें अनि यो दिव्य ग्रन्थ श्री सत्य साई सेवा सङ्गठन, कलकत्ता अनि पार्शवर्ती इलाकाद्वारा १९७१ सालमा प्रकाशित भएको हो। यो दिव्य ग्रन्थ नेपाली भाषामा प्रकाशित हुने बित्तिकै दार्जीलिङ, खरसाङ, कालिम्पोङ, सिलीगुड़ी, जलपाईगुड़ी डुवर्स, नेपाल, सिक्किम, भोटाङ, नागाल्याण्ड, शिलङ, मलाया, हङकङ, मलेसिया इत्यादि नेपाली भाषीहरुको बाहुल्य स्थानहरूमा बिजुलीको तरङ्गझैँ भगवानका दिव्य जीवनी, उहाँका लीलाहरू, आदर्श तथा शिक्षा प्रचार हुनथाल्यो।
उसैगरि, १९७२ सालमा श्री सत्य साई भजनावली अनि पूजाविधि नामक पुस्तक लेखी प्रस्तुत गरें। यस पुस्तकमा प्रशांति निलयम गाइने भजनहरू तथा पूजा विधि समावेश थिए। हाम्रा प्रत्येक भजनहरुमा एकीकरण तथा एकरूपता ल्याउने यस पुस्तकको उद्देश्य थियो। पुस्तक पूर्णरूपले प्रस्तुत गरी पाण्डुलिपि भगवान को श्रीचरण कमलमा स्पर्श गराउने उद्देश्यले भगवानको पूजा कोठामा मैले उहाँको तस्वीरअघि अर्पण गरें। यो मई, १९७२ सालको कुरा हो। मैले आफ्नो प्रत्येक प्रार्थना भगवानलाई यो भजनावली र पूजा विधि प्रकाशनको निम्ति आशीर्वाद प्रार्थना गरें। म त्यस समय बरहमपुर, मुर्शिदाबाद जिल्लामा सेन्ट्रल जेलका सुपरिन्टेन्डेन्ट थिएँ।
एकरात हठात् सपनामा स्वामी आउनुभयो, मलाई दर्शन दिनुभयो। मैले उहाँलाई भजनावली र पूजा विधि प्रकाशनको निम्ति आशीर्वाद प्रार्थना गरें। मधुर मुस्कानसहित 'परमिशन और आशीर्वाद है' भन्नुभयो अनि फेरि भन्नुभयो "तुम पुट्टपर्ति भजनावली लेके आजाना।" म हर्षले विभोर भएँ। फेरि स्वामीअघि प्रार्थना गरें- "स्वामी! हम लोग अन्तर्मन से भजन करते हैं आप तो दर्शन नहिं देते हैं।" उहाँले मधुर मुस्कानसहित भन्नुभयो, "मै तो भजनमे आता हूँ, लेकिन किधर बैठु? बैठने के लिये चेयर किधर है?" उहाँ अल्पिनुभयो। दिव्य सपनाले म पागल भएँ। भोलिपल्ट अफिसपछि श्रीमती मोक्तान र म बहरमपुर मार्केटको एउटा विख्यात फर्नीचर दोकान गई स्वामीको निम्ति चेयर डिजाइन गरी बनाउन लगाएँ। तीन दिनपछि चेयर तयार भयो, पूजा कोठामा प्रतिष्ठा गरी सम्पूर्ण बहरमपुर शहरका साई भक्तहरूलाई भेला गरी दुई घण्टा भजन गर्यौँ, आरती गर्यौँ। सबै आनन्दित भए, हामीहरूको आनन्दको सीमा रहेन।
[प्रशान्ति निलयममा भेटिएका १२३ वटा देश वाट विभिन्न जात, जाति, वर्ण, धर्मकर्म, आर्थिक, शैक्षिक स्तर अनि पेशामा आवद्ध बाबाका भक्तहरू "किन अनि कसरी पुट्टपति आउन सके?" यस प्रश्न उत्तरमा अद्भूत, आश्चर्यपूर्ण, रहस्यपूर्ण, अविश्वसनीय घटनाहरू, अलौकिक कुराहरू निर्धक्क प्रेम, स्नेह अनि विश्वाससित यी सौभाग्यवान् भक्तहरू बताउँछन्।]
एक सातापछि श्रीमती मोक्तान, मेरी साली मातृका छिरिङ, सालो श्री छिरिङ, दार्जीलिङका जिल्ला सभापति सरदार ए.एस, जिम्बा, बहरामपुर भक्तहरू श्रीमती नंद रानी मुखर्जी, श्री अरूप मुखर्जी अनि म भगवानको दर्शनमा वृन्दावन, व्हाइट फिल्ड, बेङ्गलोर पुग्यो। हाम्रो सौभाग्य।
वृन्दावन आश्रम पुगेर स्वामीको दर्शनमा हामीहरू बस्यौं। पुरुषहरू भएतिर स्वामी आफ्नो दिव्य दर्शन दिनुहुँदै आउनुभयो। दिव्यस्वरूप, मधुर मुस्कान अनि अति आकर्षणपूर्ण कदम! भगवान् श्रीकृष्ण मैं अघि बढ्नु हुँदै मेरो अघि उभ्नुभयो, म कर जोड़ी नमस्कार गर्दै स्वामीको दर्शनद्वारा तृषित नयनलाई भिजाइरहन्थें। हठात् "नेपाल!" भन्दै स्वामीले मलाई पाद नमस्कारम् दिनुभयो। म अवाक् भएँ, हर्षको अश्रु खसालें। पाद नमस्कारम् पछि उहाँले मलाई उठाउनुहुँदै भन्नुभयो - "चलो, तुम्हारा इन्टरभ्यू होगा!" मैले केही नभनी उठ्दा हाम्रो झुण्डका सबै चेलीहरू, भाइहरू पनि मेरा पछि पछि उठेर स्वामीको इन्टरभ्यू कक्षतिर अघि बढ़े।
इन्टरभ्यू कक्षमा स्वामीले विभूति सिर्जनागरि हामी सबैलाई प्रदान गर्नुभयो। हामी आनन्दले विभोर। स्वामी सोफामा बस्नुभयो अनि हँसिलो मुहारसहित प्रश्न गर्नुभयो - "बोलो, क्या समाचार।" मैले दुई हात जोड़ी भजनावलीमा पाण्डुलिपि उहाँको हातमा "स्वामी, आशीर्वाद प्रार्थना कर रहे हैं, सम्पूर्ण नेपाली भक्तों के लिए" भनी शिर निहुर्याएँ। स्वामीले राख्नुभयो पाण्डुलिपि माथि आफ्नो दिव्य हस्त अनि भन्नुभयो "अच्छा है, भजनावलीको साथ सुप्रभातम्, आरती सब लिखे हो।" मैले शिर निहुँर्याएर भजनावलीको पाण्डुलिपि झोलाभित्र हाले। मैले दुई हात जोड़ी प्रार्थना गरे- "स्वामी! आपके लिये हमने चेयर बनाये हैं. पूजा घरमे रखे हैं. आपका आदेश" भनें। स्वामीले श्रीमती मोक्तानपट्टि हेर्दै भन्नुभयो, "तुम दोनो ने मिलके चेयर बनाये हो, बहुत अच्छा हुआ है, नो डब्ल सोफा, अनली सिङ्गल सिटेड सोफा। स्वामी इज वान अनली!" मेरो शरीर उड़े आकाश छोएको अनुभव भयो, म परमानन्दमा डुबें। सबै अत्यन्त आनन्दित भए। प्रत्येक व्यक्तिसित केही कुरा गर्नुहुँदै स्वामीले श्रीमती मोक्तानलाई हेर्दै भन्नुभयो - "तुम्हारा हसवेण्ड (पति) मेरा चेयर के पास बैठके सुप्रभातम् रोते रोते करता है। जेलमें बहुत गोलमाल, रक्तपात होता है। नो फियर व्हेन आई एम हेयर। इंटरव्यू सकियो, सबैले फेरि पाद नमस्कारम् पायौँ। सबै अति खुशी भएर बिदा भए, म आश्रुधारा थाम्न नसकी स्वामीलाई दर्शन गरिबसें। उहाँले मेरो गाला तान्दै भन्नुभयो "कन्ट्रोल योर सेल्फ, मै सब समय तुम्हारा पास हूँ।" स्वामीले हामी प्रत्येकलाई बिदा दिनुभयो, हामीहरू आत्मविभोर भयौं। भजनावली छापी प्रकाशित भयो, हाम्रा सबै साई भक्तहरू आनन्दले पूर्ण भए।
सर्व देवता स्वरूप अष्टोत्तर शत नामावली ग्रन्थ पनि मेरा तीन अघिल्ला, ग्रन्थहरू झैं भगवान बाबाका रहस्यपूर्ण अनुग्रह अनि आशीर्वादका परिणाम हो। उहाँ सदा भौतिक रुपमा हामीहरुलाई कुनै आध्यात्मिक दिग्दर्शन वा आदेश प्रदान गर्नु हुन्न, उहाँका दिव्य अभिप्रेरणा तथा अनुग्रह साङ्केतिक दुर्भेध्य, रहस्यमय, अविश्वसनीय तथा रोमाञ्चपूर्ण हुन्छन्। भगवान् बाबाका इच्छा अनि सड्कल्प साँचै आश्चर्यपूर्ण छ। सर्वदेवता स्वरूप अष्टोत्तर नामावली ग्रन्थ प्रस्तुत गरी, मुद्रणालय वाट पूर्ण रूपले जिम्मा लिएपछि उहाँको चरणकमलमा समर्पण गर्ने १ अक्टूबर १९७३ को अविस्मरणीय तथा नाटकीय दिव्य घटना अदभूत छ। यी सबै घटना लिपिबद्ध गर्दा मेरो अहंभाव र अहमिका प्रदर्शन गरेजस्तो हुने भय त मसित छँदै थियो तर दिव्यात्मन साई भक्त भाइ श्री वसन्त कुमार राई एवं मेरा अनेक भगवानका समर्पित भक्त दाज्यू भाइ, दिदी-बहिनीहरूले बारम्बार मेरा अनुभवहरू लिपिबद्ध गर्ने अनुरोधको फलस्वरूप यो दिव्य ग्रन्थ भगवान् बाबाको चरण कमलमा कसरी समर्पण हुनसक्यो यहाँ वर्णन गरिरहेछु। यो पनि भगवान् बाबाको दिव्य संकल्प नै हो। म यही भगवान का वज्र संकल्प र दैवत्व आनन्द सबैसित बाँड़छु।
प्रशांति निलयममा भगवानको असीम कृपाले एउटा सानो फ्ल्याट मेरो नाउँमा पनि अनुमोदन भएको अनि यही वर्ष दशहराको शुभ उपलक्ष्यमा प्रदान गरिने सुखबर राज्य सभापतिबाट प्राप्त भएको थियो। अष्टोत्तर शत- नामावली ग्रन्थ पनि पूर्ण रूपले मुद्रणालय बाट प्राप्त भएको थियो। यो ग्रन्थ पनि भगवान बाबाको चरणकमलमा समर्पण गर्ने, फ्ल्याट पनि जिम्मा लिने अनि भगवानको दर्शनद्वारा दशहरामा प्रशांति निलयमको दिव्य आनन्द प्राप्त गर्ने परिकल्पना तय गर्यौँ।
दशैको बिदा पनि निकट थियो। यसकारण श्रीमती मोक्तान, मेरा कनिष्ठ भाइ प्रभात कुमार मोक्तान र उनका अभिन्न मित्र श्री हेमेन्द्रलाल शाहा र म जम्मा चारजनाको टोली प्रशांति निलयम जाने अनि फर्कने रेलका सुरक्षित वर्थहरूको व्यवस्था पक्का भयो। हामीहरू ठीक महालया (नवरथा)को ठीक तीन दिनअघि हिंड्ने भयौं। बाबालाई दिन-रात प्रार्थना गर्यौ। सबै अद्भूत आनंदले उन्मत्त थिए, उत्तेजित भए। म बङ्गालको सबैभन्दा ठूलो जेल प्रेसिडेन्सी केन्द्रीय जेलको दायित्वमा थिएँ। मैले नियमअनुसार दश दिनको बिदा प्रार्थना गरी आई.जी.पी.-लाई आवेदन पत्र टक्राए। अभाग्यवश हाम्रो यात्राको ठीक एकदिन अघि आई,जी.पी. साहेबबाट एउटा शिल गरेको डी.ओ. पत्र पाएँ। पत्रमा अत्यन्त नैराश्य जनक संवाद थियो 'कलकत्ता अनि पार्श्ववर्ती क्षेत्रहरूमा उग्रपन्थी अनि आतं कवादी नक्सल पन्थीहरुको कार्यकलाप चरम सीमा पुगेको हुनाले अनि तपाईंको जेलमा ८०० भन्दा अधिक उग्रपन्थी नक्सली बन्दीहरू र तिनका प्रमुख नेताहरू कैद गरिएको कारणले तपाईंको बिदाको आवेदन नामञ्जुर गरिएको छ, यो अन्तिम निर्णय हो।' यो पत्रले सबैलाई दुःखी बनायो। श्रीमती मोक्तान रून थालिन्।
मैले केवल भगवान बाबालाई प्रार्थना गरिरहें। निश्चित दिनमा श्रीमती मोक्तान,भाई प्रभात र उनका मित्रलाई हावड़ा स्टेशन गएर मद्रास मेल मा बिदा गरें। सबैले मेरो अनुपस्थितिमा खिन्नचित्त लगाए। श्रीमती मोक्तान कण्ठ रूद्ध भएर केही बोल्न सकिनन्। मैले सबैलाई बाबाको इच्छा जो छ, त्यही हुन्छ, सधै प्रार्थना गर्ने आदेश दिएँ। मद्रास मेल छुट्यो।
बेलुकी घर फर्केपछि मैले स्वामीलाई आन्तरिक हृदयबाट प्रार्थना गरें। “सबै तपाईको इच्छा हो, स्वामी, म त तपाईको निमित्त मात्र हुँ। तपाईंको इच्छामा म समर्पित छु।" यसरी मैले साँझ बिहान उहाँलाई प्रार्थना गर्न थाले। मेरा आँखा अजस्त्र आँसुले रसिन थाल्यो। यसरी दुई दिन बिते। तेस्रो दिन राति सपनामा स्वामी आउनुभयो, "तिमी किन दुःखी हुन्छौ, पुस्तक लिएर झट्टै प्रशान्ति निलयम आउनु, म तिमीलाई बोलाउँदैछु, आउँदा बाटोमा दुर्गा भवानी माँ जय जय साई माँ भजन गाउँदै आउनू” भन्नुभयो। धन्य बाबा! उहाँका असीम अनुग्रह, उहाँको अनुग्रहले जस्तै असम्भव कुरो पनि सम्भव हुन्छ।
म चाँडै ब्रह्ममुहूर्तमा उठी सदाझै ॐकारम, सुप्रभातम् अष्टोत्तरी जपम अनि ध्यान आन्तरिक हृदयबाट गरें। शरीर फूलको थुगा झै हलुङ थियो। आनन्द उत्साहले हार्मोनियममा एक्लै 'दुर्गा भवानीमा, जय जय साईमा...' गाउन थाले। मैले यसरी एक्लो बिहानै दुर्गाको भजन गाउँदा घरका कर्मचारी र अर्द्धलीहरू पनि छक्क परे। आरती गरेपछि म बाहिर निस्कन तयार भएँ। क्यालेण्डरमा सहसा आँखा पर्यो। त्यस दिन त महालया अर्थात् माता दुर्गा का आगमन दिवस नवरथा पितृपक्षको अन्त भएर मातृपक्ष ९ दिन को दुर्गा पूजा को थालनी पो रहेछ। सरकारी बिदा। हतार हतार मैले एउटा आवेदन पत्र राज्यका गृह सचिव (होम सेक्रेटरी)ला लेखें। दक्षिण भारत मा भगवान श्री सत्य साईको दर्शन गर्न ७ दिनको बिदा प्रार्थना गरे, कुनै परिस्थितिमा पनि छुट्टी नबदाउने प्रण गरें।
पत्र ब्यागमा हाली गाड़ी झिकाइ म काड झैं होम सेक्रेटरी (एकजना वरिष्ठ आई.ए.एस. अफिसर)को सरकारी आवासन आइरन साइड रोड, बालिगञ्जतर्फ हानिएँ। अभाग्यवश उनी आफ्नी मातालाई भेट्न श्रीरामपूर, हुगली जिल्ला गएको थाहा लाग्यो। उनका छिमेकी अर्का आई.ए.एस. अफिसर स्व. टीबी सिंह महोदयले मलाई 'मोक्तान' होम सेक्रेटरी सेक्रेटरी रायटर्स बिल्डिसमा आफ्नै दफ्तरमा पनि हुन सक्छन्, उनको छुट्टी र बिदामा पनि अफिस जाने स्वभाव छ, भने। उनलाई नमस्कार गरी म तन्त्रामा झै रायटर्स बिल्डिङ्सतिर हिँडे। महालयको बिदाको कारणले रायटर्स बिल्डिङ्स जनशून्य, कोलाहलहीन थियो। मूल फाटकको सर्जेन्टबाट होम सेक्रेटरी साहेब आफ्ना दफ्तरमा छन् भन्ने पत्तो लाग्यो। एकक्षण नपर्खी म 'लिफ्ट' बिना सिँढीमा उक्लेर उनको कोठामा पुगें। कुनै रहस्यमय शक्तिले मलाई निर्भीक बनाएको थियो। बाहिर बसेको सिपाहीलाई भित्र कोही छ, छैन सोधे। म काड़ झैं भित्र स्वाट्ट पसी होम सेक्रेटेरीको अधि उभे। उनले मलाई हेर्न साथ मैले उनलाई निहुरेर अभिवादन गरें। मैले तुरन्तै बिदा प्रार्थना गरेको सेतो आवेदन पत्र उनको अघि राखिदिए। उनी अति निष्ठावान, कठोर अनि इमान्दार अफिसर थिए। अत्यंत विद्वान पनि। मैले स्वामीलाई स्मरण गरें। आवेदन पत्र तलसम्म पढेर मुसुमुसु हाँस्तै भरिएको कलमले लेख्दै मलाई बगलामा भने, "साई बाबाले यसरी दशैको समयमा दर्शन दिनुहुन्छ?" मैले विनम्रतापूर्वक "हो सर, दशै मा विराट उत्सव हुन्छ, नौ दिनसम्म भने । आवेदन पत्र मेरो हातमा दिदै भने, "यो लगेर विशेष सचिव सेनलाई दिनुहोस् उनी रायटर्स दफ्तर मा आएका छन् Good Luck मैले फेरि निहुरेर उनलाई आवेदन गरें । बाहिर फुत्त निस्केर सेन साहेबको कोठामा प्रवेश गरें। धन्य स्वामीको सङ्कल्प। विशेष सचिव सुकुमार सेन उनी पनि वरिष्ठ आई.ए.एस. अफिसर, आफ्ना कोठामा थिए। आदेश भएर होला छुट्टी मञ्जुर गरियो, श्री मोक्तानवाट अलीपुर सेंट्रल जेल का सुपरिण्टेन्डेन्टले सात दिनको निम्ति चार्ज लिनेछन्। मलाई झट्ट प्रेसिडेन्सी जेल आफ्नो अफिसमा जाने अनुरोध गरे। अलीपुर सेंट्रल जेल का सुपरिण्टेन्डेन्टलाई टेलिफोन मेसेज दिएको थाहा लाग्यो। उनलाई धन्यवाद दिएर म निस्कें। प्रेसिन्डेसी सेन्ट्रल जेल मा आफ्नो कमरामा प्रवेश गर्दा त्यहाँ अलीपुर सेंट्रल जेल का वरिष्ठ सुपरिन्टेन्डेन्ट श्री आर.एन, प्रामाणिकलाई मेरो प्रतीक्षामा बसिरहेको पाएँ। स्वामी को इच्छा।"आई.जी. साहेबले छुट्टी रिजेक्ट गरे तर होम सेक्रेटरी साहेबले मजुर गरे, तपाईं साँच्चै भाग्यवान।" उनले हाँस्तै भने। उनले चार्ज लिए, जरूरी कागज पत्रहरूमा हाम्रो सही छाप भयो। उनी एकक्षण घोरिए कारण उनकै केन्द्रीय जेलमा पनि धेरै सङ्ख्यामा उग्रवादी नक्सलपन्थी बन्दीहरू कैद गरिएका थिए। मैले अफिसरहरूलाई आवश्यक निर्देश, सल्लाह र परामर्श दिएँ। हामी दुई सुपरिण्टेन्डेन्टहरूले हात मिलायौं।
बेलुकी तीन बजेको थियो। मैले हतार हतार आफ्नो सूटकेस मा भगवान को पुस्तक र अरू आवश्यक लुगा-फाटाहरू हालेर केही नखाई एकजना अर्धली साथमा लिएर, भगवानलाई आन्तरिक हृदयबाट प्रार्थना गर्दै हावड़ा स्टेसनतर्फ लागे। छक्क परें। रेलमा वर्थ आरक्षण गर्ने कुनै उपाय थिएन, साधारण टिकट काटी मद्रास मेलको दोस्रो दर्जामा बसी भगवान् बाबाको नाउँ जप्न थाले । रेल छुट्यो।
पर्सिपल्ट निर्विघ्न बैंगलोर सेन्ट्रल स्टेसन पुगेँ। पुट्टापर्थी जाने आनन्द र उत्साहमा एउटा ट्याक्सी लिने इच्छा भयो। कलकत्ता निवासी एकजना तेलुगु परिवार (पति-पत्नी) श्री अनि श्रीमती चपलापति रावो पनि पुट्टापर्थी जाने ट्याक्सी खाज्दै थिए, हामीहरूले मिलेर ट्याक्सी लियौं। ट्याक्सी पुट्टपीतर्फ बढ्यो। गाड़ी चल्ने साथ श्रीमती रावोले मीठो स्वरमा श्री गणेश को भजन शुरु गरिन्। हामीहरू भगवानको दर्शन अनि प्रशान्ति निलयमलाई आफ्नो ध्येय बनाएर हिंड्यौं, हृदय बाट स्वतःस्फूर्त मेरो मुखमा उही भजन आयो...
दुर्गा भवानीमा जय जय साई माँ,
काली कपालिनी माँ,
जय जय साई माँ परमशिवानी माँ,
जय जय साई माँ जगतोद्धारिणी माँ,
जय जय साई माँ।
मलाई स्वामीले यही भजन गाउदै पुट्टापर्थी आउनू भनी आदेश गर्नु भएको थियो।
बेलुकी ७ बजीतिर प्रशान्तिमा चारैतिर असामान्य भीड, दशहराको भीड़ अति भीड़। यो आँखाले हेर्नुपर्छ वर्णन गरेर साध्य छैन। पुट्टपर्ती को धरती लाई प्रणाम गरी म श्रीमती मोक्तान र भाइहरूको खोजीमा लागे। भीड़ भित्रका एकजना अपरिचित भक्तले मलाई भने, “तपाईं त श्रीमती मोक्तानलाई खोज्नुहुँदै होला, होइन ? उनीहरू त आज दिउँसै कलकत्ता फिर्नेकुरा थियो, फ्ल्याट पनि पाएनन, गुजरातीलाई दिइयो अनि बाबासित 'इन्टर्भ्यू त असम्भव नै थियो। तपाईं हुनुहुन्न भनी विचरी साहै दुःखी थिइन्।" म अवाक भएँ, स्वामीलाई मेरो आन्तरिक हृदयबाट पुकारें। म भीड़भित्र पसेर नयाँ बिल्डिङहरूको फेदमा हिंड्न थाले, भाइ प्रभात मोक्तानले यही चारतल्ले बिल्डिङको बरण्डाबाट मलाई तल देखेछन। खुशीले उफ्रंदै मलाई भेट्न आए। म खुशीले बिल्डिङ माथि चढ्न थाले । तर स्थानको अभावले श्रीमती मोक्तान र भाइहरू अरू झै फ्ल्याटको वरण्डामा सुत्ने गरेको रहेछन्। श्रीमती मोक्तान र भाइहरू मलाई भेटेर आनन्द विभोर भए! श्रीमती मोक्तानले मलाई एउटै प्रश्न गरिन् कसरी मैले स्वामीको दर्शनमा आउने सुयोग पाएँ जो पहिले नै आई.जी.द्वारा नामञ्जुर भएको थियो। मैले सम्पूर्ण विस्तार, मेरो प्रार्थना, -स्वामीको मलाई पुट्टपर्ती आउने आदेश, गृह सचिव साहब को मानसिक परिवर्तन, आद्योपान्त सुनाएँ। सबै अवाक् भए, स्वामीको अनुग्रह एवं सङ्कल्पको परिणाम देखेर अचम्मित भए। त्यो रात आनन्दले बित्यो।
भोलिपल्ट हामीहरू सबेरै उठी भगवान को दिव्य दर्शन मा पुग्यौँ। कस्तो आनन्दमय दिव्य दर्शन। हाम्रो जन्म जन्मको सम्पूर्ण पाप एउटै दर्शनले पखालियो। मैले प्रत्येक क्षण भगवानलाई प्रार्थना गरिरहे- कृपया नयाँ पुस्तकलाई आशीर्वाद दिनुहोस, हामीहरूलाई तपाईसित अन्तर्वार्ताको सहयोग दिनुहोस् भनी म मनमनै रोइरहें। यो साँचो हो, दशहरा अनि ठूला उत्सवहरूमा स्वामीले अन्तर्वार्ता अर्थात् इन्टर्भ्यू' कहिल्यै प्रदान गर्नुहुन्न तर स्वामीको इच्छा र सङ्कल्प कसले बुझ्न सक्ने? हामीहरू त उहाँका अबोध शिशुहरू मात्र हौँ।
दिव्य दर्शन पछि सबै चिया चमेना सेवन गर्ने उद्देश्यले फर्कन थाले। प्रकाण्ड भीड़ थियो, एक अर्कासित धक्का नलगाई हिंड्न नसक्ने भयौं। भाइ प्रभात र म पुरुषपट्टि अनि श्रीमती मोक्तान स्त्रीहरूपट्टि उभी रह्यौँ। भीड़ केही कम भएपछि कर्णेल योगा रावो, प्रशान्ति निलयम निर्माण प्रभारी (उनी प्राक्तन सामरिक अभियन्ता) Military Engineering Service-सित भेट भयो। उनले मलाई कहिले फिर्ने भनी सोधे। मैले विनम्रपूर्वक "सर, फ्ल्याट पनि पाउन सकेनौं, स्वामीसित इन्टर्भ्यू प्रार्थना गरिरहेछु, उहाँको चरणमा नयाँ नेपाली पुस्तक अर्पण गर्नेभाग्य पर्खिरहेछ," एकै सासमा भने। उनले मलाई परिवारसहित ठीक ९ बजी निर्माणाधीन पूर्ण चन्द्र भवन (त्यस समय अपूर्ण)को पछिल्तिरको कुनाको कोठामा उभिने आदेश गरे। हाम्रो हर्षको सीमा रहेन। श्रीमती मोक्तान, भाइ प्रभात र म ८.३० देखि त्यहाँ उभेर भगवानको प्रतीक्षामा प्रार्थना गरिरह्यौं । मैले हातमा चारकुने सेतो लुगालाई झोला बनाई त्यसभित्र पुस्तक, फाउन्टेन पेन, टिनमा प्याक गरिएको कलकत्ताबाट ल्याएको गांगुरामको रसगुल्ला, काजूबदाम, किसमिस अनि तीन मीटर मुर्शिदावाद रेशमको लुगा कुर्ता बनाउनलाई बाबाको चरण कमलमा अर्पण गर्नका लागि हालेको थिएँ।
भगवान् मुस्कुराउँदै, हात नचाउँदै, शरीर हावामा हिँडे झैं हठात् त्यहाँ आउनुभयो अनि मलाई हाँस्तै सोध्नुभयो - "देवदास बन के आया? (त्यस समय मैले लगाएका सादा कुर्ता पायजामा अलिक अनफिट नसुहाउँदो पो थियो कि!) चलो सब अन्दर बैठो'" बाबाले भन्नुभयो। सबैजना एउटा सानो कोठाको भुइँमा पलटी कसेर बस्यौं। भगवान् म भएतिर आउनु भयो - मैले झोलाबाट नयाँ पुस्तक निकाली जुरूक्क उठेर एउटा व्यवहार नगरिएको कलम उहाँको हातमा दिदै प्रार्थना गरें - बाबा यह अष्टोत्तर जप है, नेपाली में, कृपया आशीर्वाद दिजिए।" उहाँले पुस्तक हातमा लिनुभयो, शुरुदेखि अन्तसम्म पृष्ठहरू पल्टाउनुभयो अनि मधुर मुस्कानसहित कलमले लेख्नुभयो, "With Blessings. Sri Sathya Sai Baba.' तर तारिख लेख्नुहँदा उहाँले २ लेख्नुभयो अनि हाँस्तै "अरे, आज तो १ तारिख है न" भन्नुहुँदै २ लाई उहाँको कोमल दिव्य बालसुलभ औलाले कलम समाउनु भएर घुमाई घुमाई ० बनाउनुभयो अनि त्यसको अघि १लेख्नुभयो अर्थात् १० अक्टोबर, त्यस अगाडि १ लेख्नुभयो अनि १० को पछाडि ७३ लेख्नुभयो अर्थात् १.१०.७३। त्यो दिन १ अक्टोबर, १९७३ थियो। मैले उहाँलाई प्रसाद अर्पण गरे, उहाँले स्पर्श मात्र गर्नुभयो। रेशमको कपड़ा मैले भुई मा फिजाए, उहाँले आफ्नो दिव्य चरणकमल प्रदान गर्नुभयो। अनि मलाई हेर्दै भन्नुभयो, "Happy?" हामीहरू सबैले उहाँको पाद-नमस्कारको सौभाग्य प्राप्त गर्यौं। यसरी दिव्यानन्द प्राप्त गरेर उन्मत्त भई भोलिपल्ट बाबालाई आन्तरिक नमस्कार जनाई प्रशान्ति निलयमबाट हावड़ा स्टेसनतर्फ प्रस्थान भयौं।
मनमा हर्ष अनि पूर्ण सन्तोष प्राप्त गरी हामीहरू रेल गाडीमा मद्रास, उड़ीसा हुँदै पश्चिम बङ्गालको सीमानाभित्र भजन गाइरहेथ्यौँ, भोक-तिर्खा भुलिसके का थियौं। केवल प्रशान्ति निलयम र भगवान् बाबाको दिव्य स्मृति हृदयमा अल्झिरहेको थियो। रेल खड़गपूर स्टेसनमा आएर थामियो। खबर कागज विक्रेता हरु डब्बा भित्र पसे। मैले पनि एउटा अङ्ग्रेजी संवाद पत्र 'स्टेट्सम्यान' किने किनकि बङ्गाल र कलकत्ताको खबर नसुनेको ७ दिन भएको थियो। खबर पढ्दा पढ्दै म छक परें, फेरि पढ़े "कलकत्ताको अलीपुर सेंट्रल जेलबाट १० जना उग्रपन्थी नक्सल बन्दीहरू जेल के मूल फाटक तोड़ेर भागे। तिनीहरूले पहिले सुपरिण्टेन्डेन्टको कोठामा पसी उनको गला मोठी बेहोश गराई टेलिफोनका तार काटे। बाहिर जेल परिसरमा सशस्त्र पुलिस र सन्त्रीहरूले गोली हानी दई उग्रपन्थी बन्दी मारिए अनि ४ घायल भए। जम्मा १० उग्रपन्थी नक्सल कैदीहरू सफलतापूर्वक जेलबाट भागे। आहत सुपरिण्टेन्डेन्टलाई पी. जी. हस्पिटलमा भर्ना गरियो। अवस्था अत्यन्त भयावह। जेलमा सङ्कट र जरूरी अवस्था घोषणा। मुख्यमन्त्री, रेल मंत्री, होम सेक्रेटरी अनि आई.जी.-को जेल परिदर्शन। सारा राज्यमा हलचल, ऐन श्रृङ्खला कायम राख्न सरकार कटिबद्ध।
श्रीमती मोक्तान र म स्तम्भित भयौं। प्रेसिडेन्सी सेन्ट्रल जेल, जहाँ अझ धेरै संख्यामा उग्रपन्थी बन्दीहरू तथा तिनका ठूला ठूला नेताहरू बन्द थिए, शान्त अनि स्वभाविक रहेको खबर छापिएको थियो। मेरो बिदा कालमा प्रेसिडेन्सी जेल का दायित्व लिने श्री प्रामाणिक, सुपरिण्टेन्डेन्ट पी.जी. हस्पिटलमा सिकिस्त भएको समाचारले साह्रै दुःख लाग्यो। हावड़ा स्टेसन पुगेर हामीहरू सोझै आफ्नो क्वार्टर तर्फ लाग्यौं। घर पस्ने साथ बाबालाई नमस्कार गरी थालमा विभूति र अरू प्रसाद लिएर आई.जी. साहेबलाई भेट्न पुगे । मेरो छुट्टी यिनै आई.जी. ले नामञ्जुर गरेका थिए। तर मेरो मनमा किञ्चित मात्र पनि भय थिएन। आई.जी. साहेबलाई भेट्न साथ मैले सलाम गर्दै थालमा प्रसाद उहाँलाई चढ़ाए। प्रसाद ग्रहण गर्दै मलाई भने-
You have arrived Good, We are all in trouble. Home Secretary is worried. You should immediately take charge of Alipore Central Jail. Alipore Special Jail is already under you." मैले Ok Sir भनी सलाम गरेर बिदा लिएँ।
यसरी भगवानको दर्शन र आशीर्वाद प्राप्त गरी कलकत्ता फर्केको दिन मैले तीनवटा विराट जेलहरूको दायित्व लिएँ। मलाई कहाँ कसले यसरी दिनमा दुईपल्ट, राति एकपल्ट तीन तीनवटा जेल परिदर्शन गर्ने शक्ति दिनुभयो? उहाँ मेरा हृदयवासी स्वामी श्री सत्य साई नै हुन्।
यसरी ६ महिना बितेपछि उही आई.जी. साहेबको सिफारिशमा मलाई तीन तीनवटा विशाल जेल परिचालन गरेको निम्ति बङ्गाल. सरकारले दश हजार रुपियाँको नगद पुरस्कार प्रदान गर्यो।