सुश्री देवी भूजेल
वार्ताकार- वसन्त प्रधान
(सुश्री देवी भूजलको जन्म छैटौं सन्तानको रूपमा श्री गोरख बहादुर भूजेल अनि हर्कमाया भूजेलको कोखमा भएको हो। पारिवारिक सदस्यको रूपमा चार दाज्यू भाइ अनि पाँच दिदी बहिनीहरू छन्। साई सामीप्यमा अति नै प्रिय 'नेपाली नर्स भनेर भगवानले उहाँलाई बढो मायाले बोलाउनुहुन्थ्यो। प्रारम्भिक काल सिलगढीमा नर्सिङ पेशाबाट शुरुवात गरेपश्चात् उहाँ साई सान्निध्यमा सन् १९९१ मा श्री सत्य साई सुपर स्पेशियालिटी अस्पताल पुट्टपर्तिमा भगवान्को दिव्य अनुग्रहले नियुक्ति प्राप्त गर्नुभयो। सन् १९९१ देखि २०१० सम्म यस दिव्य अनुष्ठानको प्रतिष्ठित पद र विभिन्न विभागमा सेवा पार्याउनुभयो। २०१० मा उहाँले अवकाशग्रहण गरेपश्चात् उहाँले फेरि आफ्नो सेवालाई अवैतनिक रूपमा आजपर्यन्त निरन्तरता दिइरहनुभएको छ।)
प्रश्न: भगवान बाबासँगको सामीप्य अनि उहाँसम्मको यात्रा हजुर कहिलेदेखि शुरु गर्नुभयो? संक्षिप्तमा हामीलाई बताइदिनुहुन्छ कि?
उत्तर: यो १९६६ तिरको कुरा हो। मलाई सपनामा भगवानले तीनपल्ट दर्शन दिनुभयो। जुलाई १९६६ अनि २ अक्टूबर ६६ अनि तेस्रो फरवरी १९६७ मा। तीनैपल्ट भगवान् सेतो गाउनमा आउनुभएर मलाई पिठ्युमा हात राखेर कानमा केही मन्दस्वरमा कानेखुसी गर्नुभो। के भन्नुभयो - त्यो वाक्य भने त्यसताक मैले केही बुझ्न सकिन तर ती स्पर्श अनि मधुर धमिलो शब्दको स्मरण भने आजसम्म मेरो कानमा गुञ्जिरहेको छ। मलाई त्यसबेलासम्म भगवान् सत्य साईं बाबा को हुन्, कस्ता छन्, कहाँ छन् केही थाहा थिएन, न त मैले उहाँबारे सुनेको थिएँ, न त मैले उहाँको कुनै नक्शा नै देखेको थिएँ। तर त्यो सपना पछि भने उहाँ को होला, भन्ने जिज्ञासा भने मनमा बढ्दै नै गयो। यो सबै मेरो मन भित्र नै चलिरह्यो। सन् १९६८ अक्टूबर सिलगढी र जलपाईगढीमा हुरी आँधीले धेरै विध्वंस मच्चायो। हामी पनि त्यति बेला सिलगढीमा नै थियौ। मेरो हातमा अचानक कसैबाट त्यसबेला श्री कृष्ण सिंह मोक्तानले अनुवाद गर्नुभएको नेपाली पुस्तक 'सत्यम् शिवम् सुन्दरम् पहिलो खण्ड पर्नुगयो-यो मेरो हातमा कसले दियो त्यो पनि मलाई थाहा छैन - तर भगवानको असीम कृपाको पहिलो थोपा यही किताबबाट नै (मेरो जीवन मा) प्रवेश भयो। यो किताब मैले पढेपछि मेरो सपना अनि सपनामा साक्षात्कार दिनु भएको आकारलाई मैले बुझ्न सके। भगवान्सँगको सामीप्यको यो अद्भूत क्रीडालाई मैले त्यस समयदेखि विस्तारै बुझ्न थाले । भगवानले यसरी आफ्नो भक्तका लागि बाटो सजिलो पारिदिनु हुँदोरहेछ यसरी 'को 'देखि 'उनी रहेछन् भन्ने जिज्ञासाले मलाई साई चीनायों। भनौ मलाई साईले नै साई चिनाउनुभो। बिस्तारै उहाँको बारेमा जान्ने इच्छाले गर्दा मभित्र पनि अदृश्य परिवर्तनहरू आउन थाल्यो। भगवान रहेछन् भने ज्ञात भएपछि साईप्रति आस्था बढ्न थाल्यो। १९६५ देखि १९६८ सम्ममा मलाई साई बाबाबाट भगवान साई बाबा भन्ने ज्ञात भइसकेको थियो। यसरी त्यस समयदेखि निरन्तर उहाँसँग सामीप्यता बढ्दै गयो - कहिले उहाँको फोटो, विभूति, कहिले लकेटबाट अमृतवर्षा हुने गर्दथ्यो यसरी साईप्रति मेरो आस्था साथै प्रेमको सम्बन्ध पनि सुदृढ हुँदै गयो। (यस क्रममा अन्तर्वाता समूह - समक्ष वार्ताकार भावुक भई केही क्षण अश्रुधारा बगाउनुभो साई प्रेमको यो एउटा अद्भूत दृश्य थियो।) मैले त्यसपछि सत्यम शिवम् सुन्दरम् -को अरू दुई खण्डहरू पनि पढ्ने मौका पाएँ। अब मलाई भगवान प्रति आस्था बढ्दै जान थाल्यो। म पनि आफूमा परिवर्तन भएको महसूस गर्न थाले। सन् १९६५- १९६७ डुवर्सको सामसिङ चियाबारीमा काम गरेर सन् १९६८ देखि सिलगढीमा बसाइँ सरेपछि यी सब ममा परिवर्तन आयो। सन् १९६९ देखि सिलगढ़ी पूर्णरूपमा बसाई सरेपछि मेरो कार्यहरूमा पनि साई कार्य प्रणालीको रुचि र प्रभाव बनेर जान थाल्यो- मेरो साईसंगको कार्यहरूमा चासो झन तीव्र भयो। त्यस समय सिलगढी साईं समिति थिएन। अतः हाकिमपाड़ा सिलगढीमा प्रधान भवनमा हामी भजन मण्डलीमा जान थाल्यौं। हरेक बिहीवार त्यहाँ भजन कीर्तन हुन्थ्यो। हामी सबै भेला हुन्थ्यौ अनि कहिले ससाना सेवाका कार्यहरू पनि गर्नेगर्थ्यौ। बिस्तारै मेरोमा पनि साई सेवाका कार्यहरू गरेवापत् सेवा भावको बीज हुर्किंदै गयो। त्यतिबेला आजजस्तो सक्षम औ दक्ष बाल विकास कक्षाहरू थिएन तापनि हामी यथाशक्ति ससाना बाल बालिकाहरूलाई भेला गराएर सकेजस्तो ॐकार, केही भजन अनि मन्त्रहरू सिकाउने गर्दथ्यौं।
समयको प्रवाह यसरी नै अघि बढ्दै गयो। साईदेखिको यात्रामा मेरो जीवन पनि साईमय बन्दै जान थाल्यो। यसैक्रममा भगवानको पचासौं जन्मजयन्तीको सुअवसरमा मलाई पनि प्रशान्तिको यात्रा गर्ने प्रथम अहोभाग्य प्राप्त भयो। त्यसबेला प्रशान्तिमा दोस्रो विश्व सम्मेलनको तयारी भइरहेको मौकामा दार्जीलिङ भेकबाट श्री सत्य साई सङ्गठनको विश्व सम्मेलनको प्रतिनिधिको रूपमा मलाई भाग लिने सुयोग प्राप्त भयो। यो सन् १९७५ को कुरा हो। हर्षित मन र आनन्द विभोर थिएँ त्यस समय भगवानको पहिलो दर्शन गर्न पाउँछु भनेर। स्वामीको असीम कृपाल त्यसबेला रेल भाड़ा पनि एकापट्टी मात्र हामीले तिर्न पर्दथ्यो। प्रशान्तिको यो मेरो पहिलो यात्राले मन अति हर्ष विभोर थियो। भाग्यवश मेरो त्यस समय नै नर्सिङ पेशाको पनि पहिलो डिग्री हातमा परेको थियो। यस अवसरमा मैले पनि भगवानको असीम कृपा प्राप्त गरेर पर्तिसम्म मेरो पहिलो यात्रा पूरा गर्न सकें। भगवानले जबसम्म चाहनुहुन्न तबसम्म हामी त्यहाँ पुग्न सक्दैनौं भन्ने पनि मैले सुनेको थिएँ। त्यसबेला अति नै विशाल जनसमूह भेला भएको हुनाले त्यहाँ एउटा स्वास्थ्य शिविर लागेको थियो। यो मेरो पहिलो यात्राको पहिलो सेवा थियो- यो १२ दिनसम्म चल्यो। यसरी मैले भगवानको पवित्र भूमिमा आफ्नो जीवनको पहिलो सेवा कार्य गर्न पाएको क्षणलाई म आजीवन भुल्न सक्दिन। यसरी पर्तिको सेवामा मलाई धेरै आनन्द प्रदान गर्यो त्यसैले दार्जीलिङ सेवा दलको तर्फबाट डिसम्बर महिनामा म पनि प्रायः सेवा जान थाले। यो सेवाको क्रममा मैले जनरल अस्पताल, पूर्ण चन्द्रहल, म्युजियम अनि अहिलेको प्रशान्ति मन्दिरमा पनि सेवा दलको रूपमा सेवा पुर्याउने मौका पाएँ। यही क्रम सन् १९९१ सम्म चलि नै रह्यो।
प्रश्न: भगवानसँग हजूरले धेरै समय बिताउने सौभाग्य प्राप्त गर्नुभयो। स्वामीसँगको सामीप्य कसरी अनि कहिलेदेखि हजूरले प्राप्त गर्नुभयो - केही विशेष क्षण हामीलाई पनि बाँड्नुहुन्छ कि?
उत्तर: म त्यही भन्न लागि रहेको थिएँ। यसरी डिसम्बरको सेवामा म निरन्तर आउन थाले। साल १९९१ को सेवामा म पनि सेवादल समूहमा प्रशान्ति सेवामा आएको थिएँ। मेरो सेवा प्रशान्ति मन्दिरमा थियो। सेवा सकिएपछि हामी सबै सेवा दल दर्शनका लागि बस्यौं त्यसबेला स्वामी सबैलाई पाद नमस्कार दिनुहुन्थ्यो। स्वामी दर्शन हलमा आउनुभयो अनि मतर्फ इशारा गर्दै भन्नुभयो "जाओ सुपर में ड्यूटी जोइन करो...।
एउटा आश्चर्यचकित पार्नेक्षण थियो मेरो लागि त्यो। स्वामीले कसरी हठात् यो कुरा भन्नुभयो मैले बुझ्न सकिन तर भगवानको यो निर्देशलाई मैले उल्लङ्घन गर्नचाहिँ सकिन। सबै दर्शन सकिएपछि आफ्नो घर फर्किनका लागि तयारी गर्न थाले तर म भने सोझै सुपर अस्पताल, पुट्टपर्तिमा आएर नियुक्ति स्वीकृति पत्र बुझाएँ। अस्पताल पनि त्यही साल उद्घाटन भएको थियो। मेरो यो निर्णयले मेरा साथी भाइ, मेरी बहिनी पनि अन्योलमा परे। सबैले घर फर्किने आग्रह गरे तर म मानिन। बहिनी साथै घर फर्किने साथीहरू सबै आँखा भरि आँसु बोकेर घरतिर लागे अनि मचाहिँ अस्पताल तिर।
भगवानको निर्देशअनुसार त्यसबेलाका सुपर अस्पतालका निदेशक डा. सफाया र जनरल अस्पतालका संचालक डा. भगवन्तम्लाई स्वामीले मलाई नर्सिंग स्टाफको रूपमा राख्नु भन्ने निर्देश दिनुभो। त्यहीक्षण स्वामीले मलाई देखाएर डा. सफायालाई 'She is very Good Nurse' भनेको अनि 'उसको बारेमा कुनै चिन्ता नलिनू' पनि भन्नुभएको थियो। यस घटनापछि स्वामीको दिव्य अनुग्रहले मेरो सुपर अस्पतालमा एक परिचारिकाको रूपमा एउटा नयाँ जीवनको शुरुवात भयो। यसपछि भगवानसँगको सामीप्यमा मेरो पनि जीवन अघि बढ्न थाल्यो। दिसम्बर, १९९१ को यो घटनापछि ५ सप्ताह बितिसक्दा मात्र सीटीभीएस डिपार्टमेन्टमा मेरो परिचारिका प्रभारीको औपचारिक अन्तर्वार्ता पूर्णचन्द्र प्रेक्षागृहमा भयो। त्यसपछि म यही विभागमा आफ्नो कार्य गर्न थाले - मेरो साई कार्यको शुरुवात यसरी भयो। त्यसबेला भगवानले हाम्रो १५ जनाको एउटा विशेष तालिम झुण्ड बनाएर दिल्ली एआइआइएमएस-मा पठाउने घोषणा गर्नुभयो जसमा मेरो पनि नाम थियो। मलाई भने आइसीयू तालिमका लागि नामांकित गरियो - हामी १५ जनाको टोलीलाई स्वामीले नै आशीर्वाद दिएपछि एक महिनाका लागि हामी दिल्लीतिर लाग्यौं - यो अप्रैल १९९२ को घटना हो। एकपल्ट मेरो दुईदिने रातिको काम भएको कारण म मन्दिर दर्शनमा जान असमर्थ भए- त्यसबेला हाम्रो विभागको परिचारिका सञ्चालक श्रीमती पार्वतीरामलाई मेरो बारेमा सोध्नुभएछ - "नेपाली लड़की कहाँ है? उसे कल दर्शन में भेजो।"
यसरी भगवानसँग मैले प्रेम अनि सामीप्य दुवैको अनुभव गर्न थाले। यहाँ मलाई एकलो भएको कहिल्यै अनुभव हुन दिनुभएन भगवानले। विजयादशमीको पवन अवसरमा स्वामीले मलाई पहिलो अन्तर्वार्ता दिनुभयो। पहिलो अक्टोबर १९९२ को अन्तर्वार्तामा स्वामीले मलाई भन्नुभयो"घर जाओ।" घरमा गएर सबैलाई भेटेर आउनु भन्ने निर्देश दिनुभयो। पोहोर साल दिसम्बरमा स्वामीको निर्देशअनुसार म सीधै यहाँ बसेको देखि आज प्रायः दश महिना बितिसक्दासम्म भगवानले मलाई कहिल्यै यो दूरीको अनुभव हुन दिनुभएको थिएन - न त मलाई कुनै अन्य बाधा नै भयो। जग कल्याणकारी भगवानले अरू सरह मलाई पनि आफ्नो छत्रछाया प्रदान गरिरहनु भएथ्यो। आज अचानक घर जानु भन्ने आदेश दिनुहुँदा मैले यसलाई सहजै स्वीकार गर्न सकिन। मैले 'नाइ... स्वामी जान्न' भने।
फेरि “जाओ भन्नुभयो स्वामीले।
मैले फेरि "नाइ" भने।
एउटा सेतो लिफा मेरो हातमा थमाइदिंदै स्वामीले फेरि भन्नुभयो - "जाओ अपने परिवार से मिलकर आवो"
मलाई जान मनै थिएन फेरि पनि "होस् स्वामी' भन्दै स्वामीले दिनुभएको सादा लिफाफा पनि स्वामीतर्फ नै पार्ने प्रयत्न गरे । यो क्रम दुई तीनपल्ट भयो। अन्तमा स्वामीले भन्नुभयो, Take it, it is your mother giving (यसलाई लेऊ, यो तिम्री आमाले दिएकी हुन।) भन्दै त्यो सेतो लिफाफा मेरो हातमा थमाइदिनुभयो। मैले अन्तमा स्वामीलाई हुन्न भन्न सकिन। हातको लिफाफा बाट सुगन्धित मगमगाउँदो विभूति बास्ना आइरहेको थियो मैले सहृदय स्वीकार गरे अनि साथमा स्वामीले त्यसबखत एउटा घड़ी (हीरा पन्ना जड़ित) अनि उहाँको रातो वस्त्र पनि मलाई दिनुभयो। भगवानको यो दिव्य उपहारले म अति धन्य भएँ। कुन बेला भगवानले हामीलाई कस्तो उपहार दिनुहुन्छ त्यो थाहै हुँदैन - भगवानको निर्देशअनुसार २० दिनको छुट्टी मलाई प्राप्त भयो। जीवनको यो अमूल्य क्षण अनि साई आशीर्वादले गर्दा मैले दश महिनापछि घर आउने मौका पाएँ। सेतो लिफाफामा स्वामीले मेरो बाटो खर्च हेतु केही रुपियाँ राखिदिनुभएको रहेछ। कति करुणामय भगवान, हाम्रो हरक्षण हेरचाह गर्ने...।
प्रश्न: हजूरले स्वामीसँग बिताउनु भएकाका सेवा कार्यकालमा स्वामीले केही निर्दिष्ट निर्देशहरू हजूरलाई दिनुभयो। भनिन्छ, स्वामीले हरपल, हरक्षण सबैको हेरचाह गर्नुहुन्थ्यो।
उत्तर: यो साँचो कुरा भन्नुभयो। उहाँले सबै पदको ख्याल राख्नुहुन्छ। १९९२ को दिसम्बर महिनाको घटना हो यो। त्यसबेला आज जस्तो सबैसँग मोबाइल फोन हुँदैन थियो । कसैलाई फोन गर्न परे कन्फरेन्स हल-को फोन प्रयोग गर्थ्यौँ। एकपटक मेरी एक बहिनी पनि मसँग बस्दै थिई। राति फोन पर्खेर म अस्पतालमा बस्नु पर्दा घर फिर्न ज्यादै ढीलो हँदा हामी दिदी-बहिनीको निकै तर्कातर्की र ठुस्का ठुस्की भयो।
भोलि बिहान त्यो रातको कुरा भुलेर हामी दुवै दिदी-बहिनी प्रशान्ति मन्दिर साई दर्शनमा गयौं। दर्शन क्रममा स्वामीले हामी दुवैलाई अन्तर्वार्ता कक्षमा जाने निर्देश दिनुभयो। प्रसन्न मनले हामी दुवैले आज्ञाको पालन गर्यौँ। स्वामी आउनुभयो अनि पहिला मेरी बहिनीलाई भन्नुभयो- "कल रात इतनी छोटी सी बात में क्यो गुस्सा किया।" यो सुन्ने बित्तिकै हामी दुवैको होस उड्यो। हामीले त यो घटना भुलिसकेका थियौं । फेरि मपट्टि फर्केर स्वामीले भन्नुभयो," तुम भी... छोटी छोटी बातों में गुस्सा नही करना।" भनेर मेरो अनि बहिनीको काँधमा हल्का धाप मार्नुभयो। हामीमा लज्जा अनि ग्लानिको मिश्रण देखा पर्यो। अतः स्वामीले फेरि सम्झाएर हामी दुवैलाई विभूति सिर्जना गरी पाद नमस्कार प्रदान गर्नुभयो। हामीले जेजस्तो कुरा लुकाए पनि भगवानसँग केही लुक्दैन। उहाँ सर्व जगतका भक्तहरूसंग हरपल, हरक्षण साथमा रहनुहुन्छ भन्ने यो एउटा सानो उदाहरण हो, उहाँले गल्तीलाई सधै सच्याउने मौका दिनुहुन्छ।
प्रश्न: हाम्रो साई परिवारलाई अन्तमा केही साई सन्देश दिनु चाहनुहुन्छ कि?
उत्तर: भगवानमाथि पूर्ण आस्था राख्नुपर्छ। उहाँको शरणमा परेपछि अघि-पछि कसैको पनि सुर्ता लिनुपर्दैन। उहाँले सबै पक्षबाट हामीलाई सुरक्षित राख्नुहुन्छ। म आफ्नो नै उदाहरण पनि दिन चाहन्छु - वर्ष २०१० मा म आफ्नो पेशादेखि सेवानिवृत्त भएपछि आजसम्म अवैतनिक सेवा गर्दैछु - तर मलाई भगवानको कृपाले कहिल्यै कुनै बाधा भएको छैन आजसम्म। आर्थिक अनि व्यावहारिक सबै सबै पक्षलाई स्वामीले सुधार गरिदिनु हुन्छ। हामीले केवल आफ्नो मन साँचो रूपमा उहाँप्रति अर्पण गरेर आफ्ना कार्यहरू गर्नु पर्छ- बस बाँकी उहाँले नै हेरिहाल्नुहुन्छ। उहाँ यो संसारकी आमा हुनुहुन्छ, उहाँले सबै भक्तलाई सदैव एकै प्रकारले माया गरिरहनुहुन्छ - उहाँ सर्वकाल सर्व भक्तहरूको हृदयमा एक समान बास गर्नुहन्छ।