सुशील छेत्री
गुर्दुम बस्ती, दार्जीलिङ
भनिन्छ, थोपा थोपा मिलेर सागर बन्दछ। पानीको प्रत्येक थोपा, झरना, खोला नालाहरूमा सागर लुकेको हुन्छ। त्यसरी नै घडीको प्रत्येक टिकटिकमा मानिसको जीवन लुकेको हुन्छ। यी प्रत्येक पलहरूको एकाग्रता नै जीवन हो। हामी, अघि हेरेर ती पलहरूलाई एकाग्र गर्न सक्दैनौ तर पछि फर्केर हेर्यौ भने प्रत्येक पल एकाग्र गरी जीवनको पूर्ण चित्र तयार गर्न सक्छौ र आफ्नो जीवनमा सन्तुष्टि प्राप्त गर्न सक्छौ ।
वर्ष २००२ को पुस माघको कठ्याङग्रिने जाडो मौसममा हाम्रो सानो गाउँ गुर्दुमले सूर्य उदयको आनन्द प्राप्त गर्ने मौका पाएको थियो। त्यही साल हाम्रो गाउँमा श्री सत्य साई सेवा संगठनको जन्म भयो। केही समय नबित्दै बाल विकास कक्षा पनि सञ्चालन गर्ने तय भयो। म पनि माता पिताको आदेशलाई शिरोपर गर्दै बाल विकास जान थालें। यसरी मैले सत्य साई बाबालाई फोटोमा मात्र भए पनि पहिलोपल्ट देख्ने सुयोग पाएँ। तर स्वामीको फोटो बाल विकास कक्षामा अरू भगवानहरूको बीचमा राखेको देख्दा मलाई अचम्म लाग्यो। यो मान्छेचाहिँ कसरी भगवान भयो त? भन्ने प्रश्नले मेरो मन चिथोरीरह्यो। हुन पनि ती उत्कृष्ट कलाकारहरूको कलाले सजिएका ती भगवान्हरूको चित्रबीच स्वामीको फोटो अति नै साधारण देखिने। शङ्कापूर्ण मन भएको हामी मान्छेले कसरी चिन्ने र? तरैपनि मलाई बाल विकास जाँदा भने आनन्द लाग्थ्यो र म बाल विकास गइरहें।
नभन्दै केही साल बित्यो र वर्ष २००७ मा हाम्रा बाल विकासका गुरुहरु पर्ति यात्रामा आउने भए कक्षाको जिम्मेवारी केही दिनको निम्ति हामीमाथि सुम्पेर। प्रशान्तिमा साक्षात भगवानको दर्शन पाएपछि सबैले आ-आफ्नो अनुभव र स्वामीको माया साथै आशीर्वाद लिएर घर फर्किए। उहाँहरूको त्यो आनन्दमा भगवानको दिब्यता झल्कन्थ्यो। हामीले पनि स्वामीको फोटो प्रसादम औं विभूति पायौ। सबैजना खुशीले गदगद भए तर मलाई भने रिस उठेको थियो। सबैले स्वामीको रंगीन फोटो पाएँ तर मैले भने स्वामीको सानो छंदाको सादा (ब्ल्याक एन्ड वाइट) फोटो पाएँ, त्यो फोटोमा त स्वामीलाई भगवान जस्तो पटक्कै देखिन। घरको एक कुनामा मैले त्यो फोटोलाई फ्याँकिदिएँ।
त्यही रात मेरो जीवनमा एक महत्वपूर्ण घटना घट्यो। भगवानले मलाई निद्रामा दर्शन दिनुभयो। त्यही सादा फोटोमा भएको सानो स्वामी, कहिल्यै नदेखेको नौलो ठाउँ, एउटासानो मन्दिर। भगवानले मेरो हात पक्रेर मलाई डोहोर्याउँदै अघि बढी रहनु भएको थियो, मानस भजरे गुरु चरणम..... भजन गाउँदै। पछि थुप्रै मानिसहरू स्वामीतर्फ आइरहेका थिए, भजन दोहोयाउँदै। त्यो सानो मन्दिरमा पुगेर स्वामी बस्नुभयो र मलाई पनि छेउमा बस्ने संकेत दिनुभयो। सबै मानिसहरू भगवानको त्यो दृश्य देखेर खुशीले मुस्कुराइरहेका थिए। भगवान भने मेरो अनुहारमा हेरेर हाँसी रहनु भएको थियो। म खुशीले गदगद भएको थिएँ। म सपनाबाट ब्युँझन्छु। त्यो सपना यथार्थ जस्तो थियो विपनामा पनि म आनन्द विभोर भइरहेको थिएँ। तर मैले आफ्नो सपना आफैमा सीमित रखें । अचम्मको कुरा भने जतिबेला मैले भगवानको नाम लिन्थे अथवा कसैले भगवानको कुरा गरेको सुन्थे त्यो सपना देखेको भगवानको तस्वीर मेरो आँखा अघि झल्झली आउँथ्यो।
म सन्त रोबर्टस विद्यालयमा पढ्दै थिएँ र सबैको मनमा कलेज कहाँ पढ्ने? भन्ने प्रश्न खेल्न थालेको थियो। त्यहाँका गुरुहरू र केही साथीहरूको सल्लाहमा म पनि प्रशान्तिमा आउने भएँ स्वामीको कलेजमा प्रवेश परीक्षा लेख्नका लागि। कक्षा बाह्रको परीक्षा लेखेपछि हामी प्रशान्ती आयौँ । त्यहाँ हामीले जुन आनन्द पायौँ त्यो म शब्दमा उतार्न भने सक्तिन। हुन पनि भगवान् र मानवबीच त्यो असीम प्रेमको फलस्वरूप बनिएको एक स्वर्गिक साम्राज्य।
जब म त्यहाँको शिव मन्दिरमा पुगे जहाँ स्वामीको जन्म भएको थियो मेरो हंसले ठाउँ छोड़ेको जस्तो भयो। मेरो मुटु तीव्रगतिमा चल्न थाल्यो र म त्यहाँ ठिङ्ग उभिएँ। २००७ मा मैले सपनामा जुन मन्दिर देखेको थिएँ त्यो अरू कुनै नभएर शिव मंदिर रहेछ, स्वामीको जन्मस्थल। त्यतिबेला मैले भगवानलाई अनुभव गरें। भगवानको शब्द "यदि तिमी मतिर एक पाइला अघि बड़ायौ भने म तिमीतिर सय पाइला अघि बढाउँनेछु।" साँच्चै नै हो रहेछ भन्ने मैले महसूस गरें। भगवानले चाहनुभयो भने सपनाद्वारा पनि काम गर्नु हुन्छ। हामीलाई उहाँको नजिकलैजानुहुन्छ। साँचै नै मानिसले भगवानलाई कहिल्यै बुझ्न सक्दैन, केवल अनुभव गर्न सकिन्छ। त्यही अनुभवले म पनि भगवानको नजिक भएजस्तो महसूस गरें र परीक्षाका लागि तयारी गर्न पनि सकिन। सक्थे पनि कसरी? म अचम्भित भएको थिएँ, आनन्दविभोर भएको थिएँ। मैले मेरो परीक्षाको जिम्मा भगवान लाई सम्पिदिएँ। भगवानले साँच्चै नै मलाई लिनुभयो र उहाँको त्यो स्वर्गिक साम्राज्यमा विद्यार्थीको भूमिकामा निर्वाह गर्नेसौभाग्य मलाई दिनुभयो।
यसरी मलाई भगवानले आफ्नो नजिक ल्याउनुभएको हो। पहिले स्वामीको फोटो देख्दा रिस उठ्ने मान्छे अहिले स्वामीको त्यो फोटो हेर्दै रमाउँछु। भगवानको त्यो तस्वीर हेर्दा जतिको आनन्द प्राप्त हुन्छ, खुशी प्राप्त हुन्छ त्यो खुशी कहीं प्राप्त हुन सक्दैन। भगवानले हरेक मानिसलाई आफ्नै तरीकाले आफ्नो नजिक ल्याउनुहन्छ र मानिसलाई भगवानसितको प्रेम कहानी रच्ने मौका दिनुहुन्छ। भगवानसितको अजम्बरी प्रेम कहानीमा मलाई पहिलो पाइला अघि बढाउनुमा मद्दत गर्नुहुने माता पिता र बाल विकासका गुरुहरूप्रति म सदैव कृतज्ञ रहनेछु।