कमल जोशी
नेपाल
२००७ सालमा जब म पुट्टपर्ति आउन लागेको थिएँ, मेरा साथीभाइ र परिवारजन कोही पनि खुशी थिएनन्। अरूहरू धेरै वास्ता नगरे पनि मेरी आमाको मप्रति निकै चिन्ता थियो। सानैदेखि नै ठण्डा वातावरणमा हुर्किएको छोरो दक्षिण भारतको गर्मी कसरी झेल्न सक्ला भनी मेरी आमा अत्यन्तै डराएकी थिइन्। तर भगवान् बाबाले जे चाहन्छन् त्यो भएर नै रहन्छ। त्यति मात्र होइन कि जे हुन्छ त्यो सधैं हाम्रो भलाइका लागि हुन्छ। यी शब्दहरू म आफ्नो अनुभवको तराजुमा तौलेर लेख्दैछु, एउटा भावुक अभिव्यक्ति मात्र हो भन्ने नसम्झनुहोला।
मलाई आफ्नो विश्वविद्यालयमा भर्ना गरेर बाबाले मेरो मात्र नभई मेरो पुरै परिवारको जिम्मेवारी आफ्नो हातमा लिनुभयो। आज म उच्चच शिक्षा हासिल गरेर उहाँकै एक संस्थामा कार्यरत छु। मेरो एकजना दाजु पनि यहाँबाट शिक्षा लिएर पीएचडी-का लागि अमेरिका जाँदै छन्। हाम्रो प्रगति देखेर आमा बुबा आज अत्यन्त खुशी हुनुहुन्छ। बितेका ती दिनहरू फर्केर हेर्दा थाहा हुन्छ कि हरेक मोडमा भगवान् बाबाको अदृश्य हातले हामीलाई डोराइरहेको थियो।
साई आमाको प्रेम कति गहन हुन्छ भन्ने कुराको उदाहरणस्वरूप एउटा घटना याद गर्दैछु। सन् २००९ मा म एम.एससी -को पढाई गर्दै थिएँ। एक आइतबारको दिन म छात्रावासको प्रांगणमा ब्याडमिन्टन खेल्दै थिएँ। अचानक म चिप्लिएर लड्न पुगे। मलाई कुनै पीड़ा महसूस भएन तर मेरा साथीहरूले जब मलाई देखे उनीहरू हत्तासिए। एकजना विद्यार्थी भाइले नै मलाई होस्टेलको भ्यानमा तुरून्त अस्पताल लगेर गए। मेरो बायाँ आँखा का माथि लामो चोट लागेको थियो। डाक्टरले चारवटा टाँका लगाइदिए। त्यो दिन बेलुकी म दर्शनको समयमा कुलवन्त हलमा बसेको थिएँ। मेरो वरिपरि अरू धेरै थिए। मेरो निधारको छेउमा जहाँ स्टिच थियो त्यहाँ ठूलो पट्टी लागेको थियो। मनमा इच्छा थियो कि बाबाले मसँग कुरा गरून्, मेरो चोटबारे सोधून इत्यादि। तर अर्कोमनले भन्दैथ्यो यतिका भीडमा बाबाले तेरा लागि के समय दिनुहुन्छ र? भजन चलिरहेको बेला एकपटक बाबाले मलाई हेरेर बोलाउनुभो जस्तो लाग्यो मलाई। तर म टाढा थिएँ र सोचे कि मलाई होइन, अरू कसैलाई बोलाउनु भएको हो। म अघि जान सकिन। भोलिपल्ट सौभाग्यले मलाई दर्शनको लागि पहिलो लाइनमा बस्ने मौका मिल्यो। बाबा दर्शन दिँदै आउँदै हुनुहुन्थ्यो। मलाई देखेपछि केही परबाट इशारा गरेर बोलाउनुभयो र अति माया गरी चोटबारे सोध्नुभयो। आफ्नो दिव्य हातले विभूति सिर्जना गरेर दिनुभयो अनि निधारमा र पट्टी माथि पनि लगाइदिनुभयो। बाबाले अति प्रेमपूर्ण भएर मलाई आश्वासन दिनुभयो, "चिन्ता नगर, म सबै हेर्नेछु।” यसमा एउटा अद्भूत प्रसङ्ग छ। त्यो के भने मेरो शरीरमा कुनै पनि घाउ भरिएपछि स्पष्ट देखिने दाग बस्न जान्छ। मैले एक विख्यात चर्म रोग विशेषज्ञलाई देखाउँदा उनले यसको कुनै उपाय छैन भनेका थिए। तर यसपटक दागको कुनै निसानी नै रहेन। खाली एक दाग रह्यो, साई आमाको प्रेमको दाग, हृदयमा।
भगवानसँगको हाम्रो सम्बन्धको बारेमा चर्चा गर्दा मलाई एक विचार आउँछ। हाम्रो निम्ति के ठीक र बेठिक छ त्यो स्वामी जान्नुहुन्छ। तर पनि आफ्नो बारेमा निर्णय लिन उहाँ हामीलाई छूट दिनुहुन्छ। उहाँ चाहनुहुन्छ कि हामी स्वेच्छाले आफ्नो जीवन उहाँको हातमा सुम्पिऔ । एक असल मित्रसरी उहाँ कहिले पनि हामीबाट केही आशै राख्नुहुन्न, हाम्रा गल्तीहरू हजारपटक पनि माफ गर्नुहुन्छ, हामी आफ्नै मूर्खताले टाढा गए पनि जुन दिन हामी उहाँको चरणमा फिर्ता आउँछौ त्यही देखि हामीलाई आफ्नो शरणमा लिनुहुन्छ। हाम्रो कर्तव्य यो हो कि उहाँमाथि पूर्ण श्रद्धा राख्न सिकौं । मेरो दाजुले बाबाको म्यूजिक कलेजमा भर्ती पाउन भनी तीन वर्ष प्रयास गरे तर कहिल्यै सफल भएनन्। यसै बीच उसले अरु पढ़ाई पनि स्थगित गरे। उता आमा बुवा छोराको भविष्यलाई लिएर साह्रै चिन्तित हुनुहुन्थ्यो। त्यसै समयमा एकदिन बाबालाई गुलाबको फूल अर्पित गर्नेसुअवसर मैले पाएँ। बाबाको विद्यार्थी भएर पाइने केही सुवर्ण मौकामध्ये यो एक थियो। फूल दिएपछि एक पत्र लिएर म बाबाको सामुन्ने उभिएँ। अति कृपालु सर्वान्तर्यामी बाबालाई थाहा नहुने त के नै हुन्छ र? तरैपनि हामी भक्तलाई आनन्द दिनका लागि उहाँ विभिन्न नाटक गर्नुहुन्छ। मेरो हातबाट पत्र लिएर उहाँ पढ्न थाल्नुभयो। पत्रमा मैले आफ्नो दाजु लाई म्यूजिक कलेजमा भर्ना दिनु भनी प्रार्थना गरेको थिएँ। निक्कै गम्भीर भएर टाढा कतै हेर्दै बाबाले भन्नुभयो, 'इस बार एप्लाई करो, हो जायेगा" अर्थात् यसपटक निवेदन गर, हुनेछ। अन्तिममा मेरा दाजुको भर्ना भयो। तर हामीले सोचेजस्तो म्यूजिक कलेजमा नभई बी.एस.सी.- मा बाबाकै विश्वविद्यालयमा। त्यतिबेला हाम्रो भविष्यकालागि स्वामीको योजना छ भन्ने हामीलाई थाहा थिएन। तर पनि पूर्ण आस्थाका साथ हामीले भगवानमा विश्वास राख्यौँ। सायद, त्यसैले होला उहाँले हाम्रो जीवनकै जिम्मा लिएर हामीलाई सही बाटोमा हिँडाउनु भएको छ।
म आफूलाई बाबाप्रति अत्यन्त कृतज्ञ ठान्छु र प्रार्थना गर्छु कि मेरो जीवन बाबाकै कार्यमा समर्पित होस्। हाम्रा सबै नेपाली दाजु भाइ, दिदी-बहिनीको पनि भगवान प्रति प्रेम र आस्था बढ़ोस्। सबैमाथि उहाँको असीमित कृपा रहोस्।