दीपनारायण प्रधान
बिजनबारी, दार्जीलिङ
स्वामी भन्नुहुन्छ, "भगवान सँग जोडिएको सपना साँचो हुन्छ।" यो कुरा मेरो विश्वविद्यालयको दोस्रो वर्षको हो। त्यसबेला म वृन्दावन क्याम्पसमा अध्ययनरत थिएँ अनि त्यसबेला मैले आफ्नै लागि तेस्रो वर्षको निम्ति अनर्स विषय छनौट गर्नु थियो। मेरा वृन्दावनका शिक्षकहरूको विषय भगवानले नै चुन्नु भएको भनेर जहिल्यै पनि उहाँहरूले भन्ने गर्थे। यसैकारण मेरो पनि भगवानलाई नै सोध्ने इच्छा थियो। त्यसमाथि सबै विषयमा समान रूपमा कमजोर भएकाले गर्दा म आफै पनि अन्योलमा परेको थिएँ। नोभेम्बर को महिना थियो। सधैं झै त्यस वर्ष पनि स्वामीको जन्मदिवसको निम्ति हामी प्रशान्ति निलयम गएका थियौं । 'भगवान को जन्मदिवसको उत्सव मनाइ सकेर २४ तारीखको दिन हामी वृन्दावन फर्किने दिन थियो। त्यो दिनको साँझको दर्शन समाप्त भएर हामीलाई वृन्दावन फर्काउने निश्चय गरिएको थियो। हामी -प्रशांतिमा भइञ्जेल मैले भगवानलाई कति सोध्ने प्रयास गरे । तर म सफल हुन भने सकिन। वृन्दावन फर्केपछि मैले मेरो विषयको घोषणा गर्नु नै पर्ने भएकाले म अलिकति दुखित पनि थिए। किनभने मेरो इच्छा अझै पनि पूरा हुन सकेको थिएन।
भनिन्छ, भगवानको आँखादेखि कोही पनि लुक्न सक्दैन। भगवानले मेरा यी इच्छाहरू पनि त्यसै अपूर्ण रहनु दिनुभएन। २४ नोभेम्बर को दिन म दिउँसोको खाना खाएर त्यसै आफ्नो ओछ्यानमा ढल्किरहेको थिएँ। त्यतिकै निदाइ पठाएछु। अनि त्यसपछि भगवान् मेरो सपनामा आउनुभयो। सपनामा मैले देखें कि भगवानको दर्शनको निम्ति म कुलवन्त हलमा बसिरहेको थिएँ। जब स्वामी आउनुभयो, उहाँले मलाई अघाड़ी बोलाउनुभयो अनि भन्नुभयो कि मैले गणित लाई मेरो मूल विषय बनाएर पढ्नुपर्छ। त्यतिबेला मलाई गणित नै गाहो लाग्थ्यो अनि सपनामा नै मैले त्यो कुरा स्वामीलाई भने । स्वामीले मलाई सपनामा नै भन्नुभयो कि उहाँले मलाई सहायता गर्नुहुनेछ। मलाई अझैसम्म पनि थाहा छ स्वामीले मलाई यी शब्दहरू भन्नुभएको थियो "तिमी पहिला गणित विषय लिएर हेर त्यस पछि सबै कुरा सम्हाल्नेछु।"
अनि मेरो विषय मात्र नभएर स्वामीले मेरो साथीको विषय पनि चुन्नुभएको थियो। मैले त्यस दिन मेरो साथीलाई मेरो सपना को बारेमा भने अनि उसले मलाई भन्यो कि त्यस दिन साँझको दर्शनमा उसले लेखेको पत्र स्वामीले स्वीकार्नुभयो भने उसले त्यो सपनालाई साँचो मान्नेछ अनि उसले पनि स्वामीले भन्नुभएको विषय नै लिनेछ। अनि भनेको जस्तै त्यस साँझ स्वामीले उसको पत्र स्वीकार्नुभयो अनि मेरो साथीले स्वामीले भन्नुभएको विषय नै लिएर पढ्यो।
भगवानले मलाई यसरी प्रमाणित गर्नुभयो कि उहाँसँग हामीले जे मागे पनि उहाँले हामीलाई दिनुहुनेछ। हाम्रो प्रार्थना जति नै सानो किन नहोस् तर उहाँले सधै पूरा गरिदिनु हुनेछ।