हरि शर्मा पराजुली
सिलगढ़ी
ब्रह्मले ब्रह्मनाद गर्नुभो... ओम् (ॐ) को सृष्टि भयो - प्रणव मन्त्र... त्यसपछि पञ्च महाभूतहरू औ त्यसै क्रममा सबैको सृष्टि भइसकेपछि अन्तमा यी समस्त वस्तुहरूको सदुपयोग र सदुपभोगको निम्ति परमेश्वरले 'नर' औ 'नारी' (स्त्री-पुरुष, प्रकृति-पुरुष) को सृष्टि गर्नुभयो - अहिलेसम्मको सर्वश्रेष्ठ, अति सुन्दर र आनन्ददायक सृष्टि। त्यसबखत सृष्टिकर्ता साह्रै आन्दित अनि यो 'मानव' सृष्टिमा मक्ख थिए किनकि यो साँच्ची नै अद्भूत थियो... दिव्य गुण सम्पन्न सृष्टि। परमेश्वरले आफ्नो योजना अनुसार यो मानव जातिमाथि ठूलो आस्था र भरोसा राखेका थिए। अनि आफ्नो समस्त शक्ति न्वौछवार गरे। यो संसारमा अब दिव्यत्व व्याप्त हुनेछ शान्ति-श्रृङ्खला कायम हुनेछ, सर्वत्र प्रेम, भाइचारा, पारस्परिक सहकारिता र सहयोगिता एवं आनन्द व्याप्त हुनेछ औ यिनीहरूको माध्यम मेरो कार्य सहज हुन जानेछ भन्ने पूर्ण आशासहित।
प्रारम्भमा भयो पनि त्यस्तै... जस्तो सृष्टिकर्ताले चाहेका थिए अतः उनी आफ्नो यो सृष्टिमा गर्व अनुभव गर्न लागे।
नर औ नारीको सृष्टि गरी संसारमा ३ (तीन) शर्तहरूको साथमा पठाउनुभएथ्यो - १. 'संसारमा जाऊ, त्यहाँका समस्त वस्तुहरूको सदुपयोग र सदुपभोग गर अनि आनन्द मनाऊ' (Always Be Happy) २. 'आफ्नो सन्तान वृद्धि गर... जस्तो प्रकृतिका हरेकले गर्छन्। ३. 'अन्तमा फर्केर मकहाँ नै आऊ।' शुरु शुरुमा त्यस्तै भयो पनि। तर मानिस आनन्दमा पागल भएकाले सन्तानको सङ्ख्या अनावश्यक ढङ्गले वृद्धि भएर गयो। अब उसले सबै शर्तहरू भूलेर उच्छृङ्खल भए.... यिनीहरूमा मानवता हराएर दानवता आयो, सायद यसैलाई बाइबलले 'शैतान'को संज्ञा दिएको होला।
छोरा छोरी छुट्टिएर जाँदा वा परदेश जाँदा माता पिता केही कोसेली दिए झै परमेश्वरले मानव पृथ्वीमा पठाउँदा ५ (पाँच) बहुमूल्य रत्नहरू दिएर पठाउनुभएको थियो जसको कारणले ऊ सर्वश्रेष्ठ सृष्टि भएथ्यो... ती सत्य, धर्म (सदाचार) शान्ति, प्रेम र अहिंसा रूपी मानव मूल्य वा गुणहरू हुन्। तर मानवको विकृत आकार दानवहरूमा भने यसको विपरीत पशु स्वभाव वा गुणहरू - काम, क्रोध, लोभ, मोह, मद मात्सर्यको बाहुल्य हुनाले नै मानवका शत्रु भए। कालान्तरमा यही शत्रुले मानवलाई वशीकरण गरेकाले मानव दिव्य स्वरूपदेखि दानवस्वरूप हुन पुगे। यस्तो हुनुमा केवल मानिसको अत्यधिक इच्छाहरू, लोभ लालचको हात छ अन्यथा केही होइन। हाल 'दानव' बहुसंख्यक छन् भने मानव अल्पसङ्ख्यक।
संसारमा आउँदा सृष्टिकर्ता बाट प्राप्त तीनवटा शर्तहरूमा प्रथम दुईको पालन मानवले अत्यधिक गरे, आवश्यकताभन्दा बढ़ी... तिनीहरूको जीवनको लक्ष्य नै 'खाऊ, पिउ अनि आनन्द मनाऔं।' ईश्वर को दान भन्दै हात थालेकाले सन्तानले डाँडा काँडा ढाक्यों - यसप्रकार आफैले समस्याको सृष्टि गर्दै गए। तत् पश्चात् समस्या समाधानार्थ राम्रा नराम्रा सबै प्रकारका उपायहरू प्रयोग हुनथाल्यो। एवं प्रकारेण सृष्टिकर्ताले दिएर पठाएको त्यो अति सुन्दर र पवित्र कायामा मैला पोत्ने क्रियाको श्री गणेश हुनुको साथमा प्रायःले नै आफ्नो मूल स्रोत र "तेस्रो शर्त" नै चट्ट भुले। यसैलाई भन्छ विधिको विडम्बना। आफ्नो आगमनको स्रोत त भुले भुले गन्तव्यको लक्ष्य र उद्देश्य पनि भुले।
अब मानिस र पशुहरूमा केही अन्तर भएन कारण पशुझै आफ्नो प्रथम दुई शर्तहरूमा तिनीहरू सीमित भए। ती दुई कार्य त अन्य प्राणीहरूले पनि गरिरहेको हनाले हामी चाहिँ मानव भएकाेमा गर्व गर्ने ठाउँ नै कहाँ रहयो त- हामीले आफ्नो विवेकलाई सही प्रयोग गरेनौं भने औ फर्केर आफ्ना प्रिय प्रभु कहां जाने बाटो नै बन्द गर्यौँ भने। उहाँकहाँ जानलाई पनि गेटपास चाहिन्छ, सत्कर्म रूपी पास र निष्कलंक, निर्मल र स्वच्छ काया। तर पारिवारिक मोह र आसक्तिको कारणले अनेकौं दुष्कर्ममा लिप्त मानवले निर्मल कायालाई दूषित पारेपछि सृष्टिकर्ताकां कसरी जाने - त्यसमाथि पनि देहासक्तिको कारणले दैवत्वको ज्ञानै हराएपछि त झन फर्किने प्रश्नै आएन।
मानव (आफ्नै सन्तान)ले आफूलाई यसप्रकार भुलेपछि उहाँलाई पर्नै पीर पायो होला (माता-पिताहरू कल्पना गर्नोस् त छोराछोरी बिरानो भएको) तथापि उहाँले हरेश नखाएर साह्रै दुखित हुँदै आफ्ना दूतहरूद्वारा ती शर्तहरूको स्मरण गराउने काम भयो.... तर मानवले टेंडपुच्छर लाएनन्। लाओस् पनि कसरी जब उसको मन मस्तिष्कमा जरा गाडेर बसेको थियो देहभान्ति त्यसैले उनीहरू असफल भए। तब अंशिक अवतारको रूपमा देवदेवीहरू आए र पनि रूपान्तरण प्रक्रिया नहुँदा... (नानीहरू खेल्दा भन्ने गर्थे ढिकीमा पिस्दा भएन, ओखलीमा कुट्दा भएन, ढुङ्गा कुच्याउँदा भएन, झाँतोमा पिन्दा भएन...मेरो भोटे कुकुर उक्यों ।) अब यो मानव रूपी 'भोटे कुकुर' लाई चाहि परमेश्वर उम्क्यों नभनेर बरू 'रूपान्तरण' गरेरै छाड्ने दृढ संकल्पसहित पूर्णावतार लिएर आउनु भो… श्री सत्य साई जगत्गुरुको रूपमा,सर्वदेवतास्वरूपमा। तर पनि ९० वर्षसम्म प्रेसर कुकुरमा हालेर लाखौं सिटी बजाउँदा पनि कहिल्यै नगल्ने हन कस्तो मानव बनाए - प्रभुले। अरबौं का सङ्ख्यामा भएका मानवमध्ये केही लाख उहाँको पछि छन् भने त्यसमध्ये पनि अति कम सङ्ख्यामा उहाँका साँचा भक्तहरू छन्। अरू सबै मौकाको ताकमा भएका 'पार्ट टाइम डिभोटी' हरू। अनि त यी मानव भएनन् र अनौठा?
अहिलेको यो अत्याधुनिक र सुपर कम्प्युटरको युगमा त यही मानवले आध्यात्म झै गहन विषयलाई केही छेउकुना कोट्याउन नसक्दा (देहासक्तिको कारणले) सोझै यसलाई "नितान्त बाहियात' ठान्छन्। यिनीहरू त अवतार वा ईश्वर का अस्तित्व र सत्यतालाई प्रयोगशालामा परीक्षण गरी सत्यापित गर्न चाहन्छन्। जबकि यो Experiment (परीक्षण) होइन Experience (अनुभूति) गर्ने वस्तु हो। तथापि यी विचित्र मानवले उहाँको अस्तित्वको प्रमाण प्रयोगशालामै गर्ने शर्त राख्छन्। अब हामी आफै विचार गरौं हामी कति अनौठो छौँ।
एकक्षण आँखा बन्द गरेर हेरौं त यो सृष्टि (प्रकृति) कति विशाल, सुरम्य र कल्पनातीत छा यसको एक एक वस्तु र प्राणीको बनावट र सञ्चालन व्यवस्था कति सुव्यवस्थित छ भने यस्तो विचित्र परिकल्पना, सृष्टि र संचालन एक्लै गर्ने कारीगर झन् कति विचित्रका होलान्... कति शक्तिशाली, कति बुद्धिमानी र विश्वव्यापी होलान्।
अर्कोतर्फ, अब उनकै सृष्टि मानवलाई विश्लेषण गर्नुहोस् र अन्य प्राणीसँग तुलना गर्नु होस्.... केही अन्तर पाउनुहुन्छ? यदि "अन्तर दृष्टिले हेर्नुभए - महा विचित्रको र रहस्यमय पाउनु हुन्छ। यस्तो स्थितिमा सबैले बाँच्नुछ अनि सबैले दुईटा कुराको अनुभूति गर्नुछ - क, ईश्वर का अस्तित्व छ। ख, मानव दिव्य हुन्। आफूभित्रको दिव्यत्वलाई बोध गर्नुको निम्ति अब तपाई पाठकवर्ग आफै चिन्तन गर्नुहोस् - यस स्थितिमा तपाईंको भूमिका के हुनपर्ने?
जय साई राम!