सफलमणि प्रधान
कैंजले, बिजनबारी,
दार्जीलिङ
क्षितिजभरी लाली पोतिदिएर
पहाड़को आङबाट लजाउँदै निस्किने
त्यो बेहुली घाम
तपाईंकै सृष्टिको क्यान्भसमा
रङ्गहरू छरिएर बनेको
एउटा मनमोहक पेन्टिङ्ग हो।
चराको चिरिबिरि
अनि खहरेको मधुर आवाजमा
लुकेको छ तपाईंको न्यानो स्वर।
संसार नै तपाईंको सृष्टि
जहाँ हरेक पलमा खुशियाली छ।
त्यो झुप्रोभरि गरीबीको
रङ्गहरू भरिदिनुहुन्छ खुशीको तपाईं नै।
उसको फाटेको मुटु पनि
तपाईंकै चाहनामा धड़किरहन्छ।
किसानको चुल्हामा दन्किएर बल्ने आगो पनि
तपाईंको करुणा की सृष्टि हो।
साँझको चिसो हावामा
लहलह नाच्नु हुन्छ तपाई
किसानको खेतमा उम्रिएको
त्यो धानका बालाहरूको सँगिनी भएर।
प्रकृति नै तपाईं, सुन्दरता नै तपाईं
अनुपस्थिति जहाँ तपाईंको
न जीवन त्यहाँ न संसार त्यहाँ।
तपाईंबाट प्रस्फुटित हुने त्यो ज्ञानले
परिमार्जित भए कति कति
तपाईंकै शरण पाएर यहाँ
सुमार्गप्रति लागे कति कति!
हे! सृष्टिकर्ता
तपाईंको यो अनमोल सृष्टि
भरिएका छन् पापहरूले आज तर,
हे कलियुग अवतार!
तपाईंको चरण यो माटोमा पर्दा
शुद्धता पाएको छ यो संसारले।
पवित्र बनेको छ यो हृदयले।