निखिल सुनाम
तकभर, दार्जीलिङ
भगवान श्री सत्य साईं बाबा भन्नुहुन्छ,"यदि तिमीले मतर्फ एक पाइला अघि चाल्यौ भने म तिमीतर्फ सय पाइला आधि चाल्नेछु।"
मेरो बाल्यकालका दिनहरूमा स्वामीको यो वाचा मैले धेरैपल्ट सुनेको थिए अनि मलाई पनि उहाँको अनुभव गर्ने इच्छा हुँदा मैले उहाँप्रति एक पाइला अघि बढ़ाएँ। म साथीहरूसित बाल विकास जान थाले अनि समय बित्दै जाँदा पुट्टपर्तिमा निर्मित विद्यालय व विश्वविद्यालय आदि विषयमा जान्न पाएँ। यसरी मलाई पनि पुट्टपर्तिमा नै पढ्ने इच्छा जागेको थियो। यसरी मैले उहाँतर्फ एक पाइला चालेको फलस्वरूप उहाँले मतर्फ सय पाइला अघि नै चाल्नु भइसकेको रहेछ। साल २०१२ मा उहाँको अनुग्रहले मैले उहाँकै विश्वविद्यालयमा पढ्ने मौका पाएँ। अहिले म एकदमै खुशी छु अनि पुट्टपर्तिमा बसेर मलाई साईको नाममा नै चमत्कार छ भन्ने ज्ञात भएको छ।
म मेरो कलेजको दोस्रो वर्ष शेष गरी एक जना भाइ सित घर फर्किदै थिएँ। त्यही कम्पार्टमेन्टमा हाम्रो भेट खरसाङ निवासी एकजना दाज्यूसित भयो। उनी चेन्नईमा काम गर्दै थिए अनि उनी पनि छुट्टी मनाउन घर गइरहेका थिएँ। त्यही कम्पार्टमेन्टमा हामी बाहेक चार पाँचजना अनेपालीहरूको झुण्ड पनि थियो। ती मानिसहरू त्यहाँ हल्लागर्थे, अश्लील शब्दहरूको प्रयोग गर्थे औ खैनी चुरोट को पनि प्रयोग गर्थे। यी सबैले गर्दा दाज्यूलाई अप्ठ्यारो भइरहेको म र भाइले बुझ्यौँ। उहाँको त्यो अप्ठयारोपन हटाउनलाई हामी दुई साई भजनहरू गाउन थाल्यौं। हामीले देख्यौं कि दाज्यूको अप्ठ्यारोपन हराउँदै जाँदै थियो। अचानक उहाँले हामीलाई हाम्रो बारेमा सोधे अनि यसरी हामी एकअर्कासित परिचित भैयौ । दाज्यूले साई भजनहरू एकदमै मन पराए अनि भजनको मिठासको साथ साथ हामीले हाम्रा साथै अन्य व्यक्तिहरूको स्वामीसितको अनुभवहरू साट्न थाल्यो। अन्तमा, दाज्यूको अनुहारको रङ्ग नै बद्लियो अनि उहाँ एकदमै खुशी हुनुहुन्थ्यो। हाम्रो अन्तिम स्टेसन (एनजेपी) आउन लाग्दा उहाँले भन्नुभयो,"हुन त मैले साई बाबालाई देखेको थिइन, उहाँको बारेमा सुनेको मात्रै थिएँ। तर तपाईंहरूसित बात गरेर औं तपाईंहरूलाई देखेर उहाँ कस्तो हुनुहुन्थ्यो भनी कल्पना गर्न सक्छु।"जब यी शब्दहरू मैले उहाँको मुखबाट सुने तब मैले सोचे, "हामीले त केही पनि गरेका छैनौं त उहाँले के भन्नुभएको?" अहिले पछिल्तिर फर्केर हेर्दा म भन्न सक्छु कि यो त केवल एउटा चमत्कार हो, साईको नामको चमत्कार।