अनुरोध देवकोटा
पुलचोक, ललितपुर, नेपाल
म र मेरो साथी, एक वर्षपछि श्री सत्य साई इंस्टीट्यूट बाट डेढ़ महिनाको छुट्टी बिताउन घर फर्किने तयारीमा छौं। हामी आज १६ तारीख बिहान सात बजी यशवंतपुर, बैंगलोरदेखी गोरखपुर रेलबाट घर जान तयार हुँदैछौ। हिज राति बुक गरेर बसेको होटलमा सामानहरू प्याकिङ गर्दैछौ। मेरो साथी एकदम खुशी छ तर मेरो मनमा भने एक अनौठो विचारले सताइरहेको छ। हिजो राति मैले एउटा अनौठो सपना देखे।
सपनामा म एउटा सड़कमा थिएँ जहाँ मानिसहरू डर र त्रासले रूँदै, कराउँदै यता र उता गर्दै थिए। मेरो मनमा पनि डर भरिएको थियो र म पनि कुनै कारणले तर्सिएर कुद्दै थिएँ। म अचानक एउटा घरमा पुगेँ। सीढ़ी चढेर एक तल्लामाथि पुगें र मैले त्यहाँ शिवलिंग देखे। मैले शिवलिङ्गको अगाड़ि गएर लिङ्गलाई तीनचोटि ढोग गरें। अचानक मेरो निद्रा खुल्यो।
यो सपनाले मलाई निकै गम्भीर सोचमा पार्यो किनभने मैले ती मानिसहरूको डर त्रासको कारण नै थाहा पाइनँ। मैले मेरो दुःख मेरो साथीलाई सुनाए। उसले भन्यो, "त्यो सपनाले, तिमी नडराईकन घर जाऊ, लामो यात्रा छ,म तिमीलाई रक्षा गनेर्छु भनेर महादेवले दर्शन दिनुभएको होला। त्यसैले अब जाऊँ रेल आउने बेला भयो, जाओं हिंडा यो होटल छोड़ेर।" मैले पनि उसको कुरा ठिकै होला भन्ठानेर घर जान तयार भएँ।
म घरमा छु र भर्खरै खाना खाएर बाहिर निस्कन लागेको छु। अचानक छिमेकी घरका मानिसहरू चिच्याउन पो थाल्छन्। मेरो टोलभरिका मानिसहरू डरले कराउँदै भूकम्प आयो! भाग! भाग! भन्न थाले। भूकम्पको नाम सुन्न साथ मेरो सबै अंग सतर्क भयो। म घरको एक तल्ला-माथि छु, बाहिर भागौँ भने नजिकै कोठामा बुवा हुनुहुन्छ राम्ररी हिंड्न सक्नुहुन्न। त्यसैले बुवाको याद आएर कोठाभित्र गएँ। मेरो बुवा ढोका समातेर उभिरहनु भएको रहेछ। म पनि उहालाई एक हातले समातेर अर्को हातले ढोका समाते। मलाई भूकम्पको महसूस हुँदै थियो। अघिसम्म थोरै लागेको थियो तर अहिले त घर भत्काउँलाझै हल्लाउन थाल्यो। ढोकाबाहिर त धूलोले कुहिरो लागेको जस्तै भइरहेको छ। मेरो घरबाट त माटोहरु, ढुङ्गाहरु झर्दै रहेछन्।
(यो विवरणभन्दा अघि मेरो घरको बारे सानो जानकारी। मेरो घर हजूरबुवाको बुवाले बनाउनुभएको। विक्रम संवत १९९० को भूकम्प जुन चाहि ९० सालको भूकम्प भनी प्रचलित छ। त्यो भूकम्पमा पनि नभत्किएको घर आजसम्म बाँचिरहेको छ। त्यस्तो पुरानो घर तर हालै घरको अवस्था कमजोर थियो किनभने धेरै पुरानो माटोको घर भएकोले जताततै चर्किएको छ। कहिलेकाहीं त यस्तो लाग्थ्यो कि घर भत्किन होइन, हावा हुरीले नै भत्काउला जस्तो, अब आफै सोच्नुहोस्।)
यस्तो अवस्थामा मलाई झन् बढी डर लागिरहेको छ। दङ्गाहरू खसेको देख्दा त घर नै खस्ला जस्तै छ। मैले अरू केही नसोची भगवानलाई याद गर्न थाले । अचानक मेरो दृष्टिमा सपनामा देखेको शिवलिङ्गको प्रतिबिम्ब आयो। मैले त्यो सपनामा मानिसहरू डराएको, कराएको देखेको थिएँ। अहिले वरिपरिका सबै मानिसहरू त्यसो गर्दै छन्। सपनामा मैले लिङ्गलाई तीनचोटि ढोग गरेपछि सपना रोकियो त्यसैगरी जब आज मैले आफ्नो सोचमा लिङ्गलाई तीनपटक ढोक गर्दा भूकम्प रोकियो। मैले मेरो बुवालाई हतार हतार घरबाट बाहिर निकालेर एकपटक घरलाई हेरे। घर निकै चिन्ताजनक र गम्भीर अवस्थामा छ। ठूलो हावा, हुरीमै भत्केलाजस्तो घर भगवानको कृपाले बाँच्यो।
भनिन्छ, स्वामीसँगको सबै अनुभव, सपना वा जाग्रत अवस्था परस्पर सामान्य हुँदैन। त्यो एउटा भगवानको अगम्य लीला हो। समय आएपछि ती सबै लीलाहरुको रहस्य आफै खुलिंदै जान्छ।