श्री अनुप प्रधान
जिल्ला सभापति, जिल्ला दक्षिण दार्जीलिङ
श्री सत्य साई सेवा सङ्गठन, पश्चिम बंगाल
दार्जीलिङ जिल्लाको तराई अञ्चलमा रोहिणी सैनिक छावनीसंग प्रायः सम्बद्ध क्षेत्र लगभग २०० परिवार बसोबास गर्ने एउटा समतल खण्ड जसको सुन्दर नाम 'पैनाकुमारी'। यहाँका समस्त परिवार आदिकालदेखि नै कृषि निर्भर थिए अनि छन्। तर आधुनिक कृषि पद्धति अभाव र भूमिको उर्वराशक्तिमा ह्रासको कारण सबै विपन्नताको शिकार भए- फलतः उनीहरू पशुतुल्य जीवनयापन गर्न बाध्य भए।न शिक्षा, न स्वास्थ्य न पेयजल (विशुद्ध), न शौचालय। यी सबैको अभावमा मानव जीवन कस्तो हुन्छ?सरकारी र गैरसरकारी संस्था सबैले यहाँ 'रुटिन वर्क' भने चलाइरहे तर उनीहरूलाई सहयोग केही भएन। दक्षिण दार्जीलिङ जिल्लाको लङभ्यू समितिको तत्वाधानमा भगवान् श्री सत्य साईको ग्राम अधिग्रहण गर्ने निर्देशअनुसार त्यहाँ कार्यारम्भ भए तापनि अपेक्षाकृत सहायता पुर्याउन हामी कतै सफल हुन् सकीरहेका थिएनौँ।
दक्षिण दार्जीलिङ जिल्लाले एसएसएसभीआइपी अन्तर्गत अधिग्रहण गरेका तीन ग्रामहरू - डालिम बनबस्ती (अम्बियोक समिति), निम्न तोक बस्ती (मामरिङ समिति) औ पैनाकुमारी (लङ्भ्यू समिति) मध्ये यो तेस्रोले राष्ट्रिय स्वीकृति पाएर हाल राष्ट्रको सातौं स्थानमा यसको गन्ती आउँछ। अतः अब यो राष्ट्रिय सम्पत्ति भयो र अब भने हामी सबैमा क्षितिजमा नयाँ सूर्यकिरणको दर्शन भए झैं भएर दोहोरो उत्साहको साथ सबै कार्यमा उत्रिएपछि यहाँ हाल निम्न कार्यहरू सम्पन्न भइरहेका छन्-
१. साई प्रोटिनको वितरण
ग्राम सर्वेक्षणमा प्राप्त आकड़ानुसार कुपोषणका शिकार भएका शिशुहरु, गर्भवती महिलाहरू र स्तनपान गराउने माताहरुलाई उनीहरूको नियमित नाप तौल गर्दै प्रत्येक महिना ४२ किलो साई प्रोटिन बाँड़िन्छ।
२. श्री सत्य राई राष्ट्रिय नारायण सेवा
स्वयं जीविका आर्जन गर्न असक्त १४ विपन्न परिवारका ४५ सदस्यवर्गलाई यस योजना अन्तर्गत नियमित राशन (खाद्यान्नहरू) वितरण गरिन्छ। प्रायः २०५ किलो भन्दा बेसी चामल, २० किलो दाल, १४ किलो तेल, २५ किलो नून साथै अन्य आवश्यक सामग्री प्रति महिना वितरण गरिन्छ।
३. नारायण सेवा
विभिन्न स्थानीय, राष्ट्रिय पर्व-उत्सव वा अन्य अवसरमा सिलगढी, खरसाङ र लङ्भ्यूका स्वयंसेवक र भक्तहरूले आ-आफ्नो घरमा खाना तयार पारी प्याकेट बन्द आहार कमसेकम ६00 जनालाई बाँड्ने गर्दछन्।
४. छाता, जूत्ता र वस्त्र वितरण
एकीकृत ग्रामका मानिसहरूको बुनियादी आवश्यकतालाई ध्यानमा राख्दै मौसम अनुसार कहिले छाता, कहिले जुत्ता र वस्त्रहरू बाँड़िन्छ-- मई २०१६ को दिन बाल विकासका र अन्य ३० जना नानीहरुलाई छाताहरू र प्रायः त्यति नै जूत्ता बाड़ियो भने प्रायः ५0 जना ग्रामवासीलाई गृष्मकालीन बस्त्र वितरण गरियो।
५. पेयजल सर्वराह
समग्र मानिसको प्राथमिक र अनिवार्य आवश्यकता पेय जल पैनाकुमारीमा कसैले झोड़ाबाट त कसैले धारा तर धेर जसोले जमेको कूवाको मैला पानी पशुहरूको साथमा प्रयोग गर्थे। जिल्ला सङ्गठनले त्यस्तै क्षेत्रमा एउटा कूवा बनाएर केही त्राण प्रदान गरे पनि केही ठोस सहयोग नहुँदा हालमा तीनवटा कूवा र एउटा गहन नलकूप (Deep Tubewell) निर्माण गरिएका छन्।
६. शौचालय
ग्रामवासीको एक मात्र साधन, खुल्लामा शौचा यस्तो थियो हाम्रो प्रिय ग्रामवासीको अवस्था। तर आज यहाँ दुईवटा प्रकल्प अन्तर्गत १५ वटा पक्का शौचालयहरू गाउँको बीच बीचमा निर्माण गरिएको छ।
७. मिश्रित वनस्पति (प्राङ्गारिक) मल (कम्पोस्ट)
उर्वर-शक्तिहीन यहाँको बञ्जर भूमिमा हाल एसएसएसभीआइपी कार्यक्रमअनुसार हाम्रै जिल्लाका पदभारीको निर्देशनमा ग्रामवासीहरू स्वयं यस प्रकार मल तयार गर्न लागेका छन्। यस मललाई उनीहरू आफ्नो आर्थिक फसलहरु मेवा, गुवा, सुपारी, नरिवल, फल फूलका वृक्षहरु आदिमा प्रयोग गर्छन्। गत महिना उत्तम गुणवत्ता र ज्यादा फलनशील मेवाका १५० पौधाहरू वितरण र रोपण कार्य सम्पन्न भयो। त्यसबाहेक मेवाको बिजन आफै तयार पार्ने कार्य गरियो जुन ग्रामवासीमा बाँडिन्छ।
८. भूगर्भ जल विस्तार
सर्वत्र देखा परेको जल सङ्कटले यस क्षेत्रलाई कसरी अक्षुण्ण राख्न सक्ने। खोला नाला र पोखरीहरूमा जलस्तर घटेकोले अब भूगर्भमा जलका स्तर बढ़ाउने क्रियामा हाल हाम्रो प्रयास र तालिम निरन्तर चलिरहेकोले फलाफल पनि सामु आउन थाल्यो। जिल्लाका प्रायः धेरै इलाकामा बञ्जर भूमिमा जताततै खाड़लहरू खनेर वृष्टिको पानीलाई बगेर जान नदिएर भूगर्भमै प्रविष्ट गराइँदै छ । पैनाकुमारीवासीले पनि यो कार्य गरिरहेका छन्, स्वेच्छाले।
९.नियमित स्वास्थ्य केन्द्र
अप्रेल २०१६ देखि पैनाकुमारीमा एउटा स्थायी स्वास्थ्य केन्द्र दक्षिण दार्जीलिङ जिल्लाको सञ्चालनमा सुदक्ष डाक्टर र स्वास्थ्यकर्मीहरूको सप्रेम सेवाको आधारमा प्रत्येक महिनाको तेस्रो मंगलवार सञ्चालन हुनेगर्छ। यहाँ सबै उपस्थित रोगीहरूको स्वास्थ्य जांच र निःशुल्क औषधी वितरण गरिन्छ भने रोगीहरूको उपस्थिति हाल हरदर ४५ जना हुन्छ।
१०. वार्षिक खेलकुद
यस वर्षको प्रारम्भ २१.२.२०१६ को दिन यो गाउँले आफ्ना शिशुहरू, बाल बालिका, युवक युवती र वृद्धहरू समेतलाई खेल मैदानमा उतारेर रङ्गारङ्ग कार्यक्रम आनन्दपूर्वक समापन गर्यो। ४- ५ घण्टाको विभिन्न खेलकुद आदिद्वारा भरपूर मनोरञ्जन दक्षिण दार्जिलिङ जिल्लाले उनीहरूलाई दिनुका साथमा पूर्व घोषित मध्यान्ह भोजनका ७०० प्याकेट, उनीहरूको पेट शान्तिको निम्ति प्रतीक्षामा थियो। अन्तमा यो कार्यक्रम प्रत्येक वर्ष सम्पन्न गरिदिने जनआग्रह प्राप्त भयो।
११. बाल विकास र आध्यात्मिक सेवा
गाउँका शिशुहरुमा मानव मूल्यबोध गराउने प्राथमिक प्रयास स्वरूप हाम्रा तालिमप्राप्त गुरुहरूद्वारा बाल विकास शिक्षा प्रदान गरिँदैछ भने त्यसमा नियमित हरदर उपस्थिति २२ जना हुन्छ। त्यसबाहेक गाउँका महिलाहरूलाई लिएर आध्यात्मिक चर्चा परिचर्चा गरिन्छ।
१२. महिला प्रौढ़ शिक्षा केन्द्र
यसै क्षेत्रका सक्रिय युवतीहरूले आफ्नै प्रयासमा महिला प्रौढ़ शिक्षा केन्द्रको प्रारम्भ गरेका छन्। यो एउटा शुभ लक्षण हो। यसलाई नियमित राख्न जिल्लाको प्रयास छ।
१३. कोचिङ सेण्टर
ठूल्ठूला श्रेणीमा पठनपाठन गर्नेछात्र-छात्राहरूलाई कोचिङको व्यवस्था गर्न तक्निकी कारणले हाल समर्थ नहुँदा स्थानीय शिक्षित चेलीहरूको अथक प्रयासमा प्राथमिक स्तरको कोचिङ केन्द्र प्रारम्भ गरिएको छ।