मनोहर भूजेल
मामरिङ, खरसाङ
युगको छातीमा कुल्चिएर
सहस्रौं शताब्दीको स्वागत गर्दै
सभ्यताको ब्यानर छातीमा झुण्डाइ
परिष्कृत समाजकाे स्लोगनसँगै
विकृति र विडम्बना लादी
कुटिलता पोतिएका मुहारहरू
सद्भाव रित्तिएका मान्छेहरू
यी मानवता हराएका समाजहरू
स्वार्थै स्वार्थको जिजिविषामा
बाँच्नकै खातिर हरेक दिन
जिउने क्रम र उपक्रमहरूको खोजमा
व्यस्त! व्यस्त! व्यस्त देखिन्छन्।
सबैलाई सुख हाँस्नुको चाह छ
वैभवशाली जीवन बाँच्नको मोह छ
यसैले सायद आकाङ्क्षाहरूमा वशीभूत मान्छे
भौतिकताले द्रवित मान्छे
सुख हाँस्नकै निम्ति
वैभव बाँच्नकै निम्ति
स्वार्थ मन पराउने भएको छ
हिंसा मन पराउने भएको छ।
द्वेष र घृणा रुचाउने भएको छ
मान्छेको नाममा यी अमान्छेहरू
पहाडको सतहलाई औंल्याउने मोहमा
भौतिक सुखको लालसासँगै
हिंसा र हत्याको जगजगीमा पनि
निष्फिक्री बाँच्ने भएको छ।
जहीं तहीं सन्त्रास र आतङ्क
युद्ध, घात र प्रतिघातहरू
स्वअस्तित्वगामी सङ्घर्ष
सीमा सांधका अतिक्रमणहरू
मान्छे!
मान्छेको महासमुद्रमा
रगतका नदीहरू बग्न थालेका छन्।
यसर्थ, अब यी बर्बर परिवेशहरूमा
शुभ मुहूर्त किन पर्खने
आऊ साथी सश्रद्धाको कामना गरौं।
थुप्रै थुप्रै एलओसीहरु-मा
एक-एक चपरी त्याग साटौं
शब्द तथा वाणीलाई
युद्धको घोषणा नसम्झी
सद्भावनाको साँघु सम्झौं।
अरूको निम्ति आफू
अलिकति मर्न सिकौं।
खण्ड खण्डमा विभाजन गर्न
प्रत्येक झण्डाहरूको एक-एक टुक्राले
एउटा ठूलो मानवताको झण्डा बनाऊँ।
बस त्यति भए पवित्र शखनाद स्वतः हुन्छ
त्यो ठूलो शब्द त्यो पृथ्वी भरी शत्रुविहीन
विजयको ध्वनि।
आऊ साथी, शान्तिको कामना गरौँ।
एउटा नयाँ जीवन बाँच्नु।
हिंसारहित मानवता गाँस्नु।
दूषित समाजलाई नाश गर्नु।
हृदयको दिव्य सिंहासनमा
अहिंसाको दीपहरू बालेर
प्रेमका फूलहरू छरेर
दयाका हातहरू जोड़ेर
एक हरफ शान्ति मन्त्र जपौं।