विन्द्या सुब्बा
रोपवे, दार्जीलिङ
कलियुग अवतार भगवान् श्री सत्य साई बाबासँग एकात्मा र हरपल छायासरह साथ रही प्रायः चार दशक एक अनन्य साधकको जीवन बिताए श्री नारायण कस्तुरीले। भगवान रामचन्द्रलाई स्मरण गर्न साथ हाम्रा आँखा अघि रामभक्त हनुमानको स्वरूप आईहाल्छ, बाबालाई स्मरण गर्न साथ उहाँका परम अनुचर प्रो. कस्तुरीको पनि स्मरण हुन स्वाभाविक हो। सत्य साई स्वामीका जीवनी, कर्म र सन्देशहरूलाई अक्षरसः जनमानसमा छरिदिने तथा माता ईश्वरम्माको जीवनी लेख्ने नारायण कस्तुरी बाबाका प्रेमप्रार्थी र सेवक थिए। एउटा अवतारको दिव्य जीवन, उद्देश्य र रहस्यमयी आचरणलाई नजिकबाट हेर्दै त्यसका विविध पक्षहरूलाई उजागर गरी विश्वका करोड़ौ मानिसहरूलाई आध्यात्मिक उज्यालोतर्फ आकृष्ट गरिदिए। श्री कस्तुरी मूलतः कनाडाभाषी हुन् तर अङ्ग्रेजी, मलयालम र तेलेगु भाषाका पनि ज्ञाता थिए तर अङ्ग्रेजी पोख्त विद्वान उनी, अत्यन्त सुन्दर अङ्ग्रेजी भाषा शैलीका धनी। पेशागत उच्च पद, शैक्षिक योग्यता र व्यक्तिगत ज्ञानगुण सन्दर्भमा पनि कस्तुरीजी एक चोटिका व्यक्तित्व हुन्। तर श्री सत्य साई बाबासँग भेट भएपछि उनले आफ्ना सारा प्रतिभा र उचाइँलाई तल झारेर सानोभन्दा सानो बनाए र आफूभित्र केवल आध्यात्मिक पोषणका लागि प्राण रहजेल दिव्यपुरुष, बाबाकै सेवक र अनुगामी भएर रहे। प्रो. कस्तुरी एक उच्च कोटिको कवि, लेखक पनि थिए। श्री सत्य साई बुक्स एन्ड पब्लिकेसन ट्रस्ट, प्रशांति निलयम बाट प्रकाशित सन् २०११ को 'अंतर्यामी' नामक डायरीमा लेखिएको छ "Prof. Kasturi had many pens in his pocket - that of a Writer, Novelist, Critic, Satirist, biographer, historian, Poet, humorist and Programmer." उनी पेशाले अभिवक्ता, प्राध्यापक र आकाशवाणीका निर्देशक थिए। अल इण्डिया रेडियोलाई 'आकाशवाणी' शब्द र नाम दिने अधिकारी उनी नै हुन्।
एक दिव्य अवतार, बाबामा विद्यमान चुम्बकीय शक्तिमा पृथ्वीका असङ्ख्य मानिस हरू आकर्षित भए, बाबाका नजिक र वरिपरि झुम्मिए, फलतः उनीहरूका जीवन नै परिवर्तन भएर गए। एउटा फलामको टुक्रा झैं यसैगरी आकर्षित भए प्रो. कस्तुरी पनि। प्रथमचोटि बाबालाई उनले सन् १९४८-मा भेटे जतिबेला उनी ५१ वर्षका थिए र बाबा २२ वर्षका। त्यतिखेर पुरानो मन्दिरमानै बाबाको वास थियो, प्रशान्ति निलयमबारे भगवानले परिकल्पना गर्नुभएको विशेष साल हो यो। तर यस भेटपछि नै एउटा अवतारका मानवकल्याणार्थ उद्देश्य र कर्मप्रति कस्तुरी मुख्य सहायक भई ३९ वर्ष साई सान्निध्यमा जीवन बिताएर साईमा नै विलीन पनि भए। सन् १८९७ मा जन्मग्रहण गरेका कस्तुरीले १९८७ मा ९० वर्षको उमेरसम्म साई सेवा र साधनाका लागि आफूलाई समर्पित गरिदिए। लेखेका छन् उनले "I have no knowledge of the year when I was last on earth. But I must Congratulate myself that this time I have had good schooling. Now I am waiting to receive my School leaving Certificate namely the Signal to leap into warm lap of Sai for the final rest in him.
यसरी लेखेझे साईकै दिव्य काखमा उनले चिर विश्राम लिए। चार दशकको समय अवतार का सत्सङ्गमा बस्दा यस अवधिका कति-कति स्मृतिहरू, दिव्य घटनाहरू नारायण कस्तुरीले मुख्यतः 'लभिङ गड' अनि उनका अन्य पुस्तकहरू 'पाथवेज टु पिस प्रशान्ति', ईश्वरम्मा द चुजन मदर', 'शिव शक्ति स्वरूप', 'लाइट अफ लभ' आदिमा लेखेका छन्। एउटा अवतार का हर क्रियाकलाप का लागि उनी मुख्य अश्व भएर रहे। बाबाले समय समय प्रदर्शन गर्नुभएको कयौँ दिव्य महिमा र चमत्कारहरूका प्रत्यक्षदर्शी हुन् कस्तुरी। सर्वप्रथम सन् १९६१ मा भगवानको जीवनी 'सत्यम् शिवम् सुन्दरम् खण्ड-१ लेखेर प्रकाशित गरे जुन पुस्तकमा बाबाको जन्म, यससँग जोडिएका अद्भूत घटनाहरू, बाल्यकालका रहस्यमयी क्रीड़ा हरू र किशोरकालका महिमाहरू उल्लेख गरिएका छन्। यो जीवनी पुस्तक खण्ड-१ मूलतः अङ्ग्रेजी त्यसपछि तेलेगु, हिन्दी हुँदै देशका कैयौं भाषाहरूमा अनूदित भए र नेपाली भाषामा पनि बाबाका विशेष अनुग्रहका पात्र श्री कृष्ण सिंह मोक्तानद्वारा अनूदित भई प्रकाशित भयो। साई तरङ्ग बहन थाल्यो नेपाली जनमानसमा पनि। यसरी सन् १९६१ देखि १९७९ सम्म नारायण कस्तुरीले 'सत्यम् शिवम् सुन्दरम् का जम्मा चारवटा खण्डहर लेखेर बाबाका दिव्य जीवन र सन्देशहरू संसारभरि फैलाए। यस अवधि देश विदेशका साई भक्तहरूद्वारा पनि बाबा सन्दर्भमा आ-आफ्ना अनुभव र अनुभूतिहरूसहित कैयौं अनुपम पुस्तकहरू लेखिए। यस समयसम्म संसारभरि श्री सत्य साई सेवा सङ्गठन, भजन मण्डली र यसका एकाईहरू स्थापित भएर बाबाकै शिक्षानुसार मानवमा आध्यात्मिक उत्थानका लागि सेवा कार्यहरू भइरहेको थियो।
भगवानका हरेक सङ्कल्पमा मुख्य सहायकको रूपमा पूर्ण समर्पणसाथ कर्मचित्त भए प्रो. कस्तुरी। १६ फरवरी १९५८ देखि भगवानका सत्य, धर्म, शान्ति, प्रेम, अहिंसाका सन्देशहरू बोकेर प्रकाशन आरम्भ भएको "सन्तान सारथि", पत्रिकामा कस्तुरीजी सम्पादक, कम्पोजिटर, मुद्रक, वितरण, हुलाकी जेजति सबै भएर बाबाका यस अभियानको मुख्य स्रोत सँगसँगै बहँदै अघि बढ़े। मानवमा नैतिक अनि आध्यात्मिक उत्थानका निम्ति उत्सर्गित यो मासिक पत्रिका आजसम्म नियमित प्रकाशित भइरहेछ प्रशान्ति निलयमबाट। सन् १९५८ देखि १९८४ सम्मका 'सनातन सारथि' का विभिन्न अङ्कहरूमा प्रकाशित भगवानका दिव्य सन्देशहरू १६ वटा वाहिनी पुस्तकहरूमा सङ्कलित गरी प्रकाशित गरे नारायण कस्तुरीले जुन वाहिनी पुस्तकहरू वर्षैपछि हजारों प्रतिहरू पुनर्मुद्रण हुने गर्दछ। यसबाहेक कस्तुरीजीले भगवानका १२ वटा प्रवचन साथै वृन्दावनमा गृष्मकालीन सत्रहरूमा उहाँका दिव्य सम्भाषणहरूलाई सम्पादन र सङ्कलन गर्ने महत् काम गरेका छन्।
बाबाका टाड़ा नजिक धेरै यात्राहरूमा सँगसँगै हिंडेका छन् प्रो. कस्तुरी। श्री सत्य साई सेवा सङ्गठन, दाजीलिङ लगायत सम्पूर्ण पहाड़ का भक्तहरुका लागि सन् १९७५ -मा दार्जीलिङ आए उनी। श्री मोक्तान महोदय यस सम्बन्धमा भन्नुहुन्छ - "....दार्जीलिङ बाट बिदाको समय कस्तुरीजीले हाँस्दै भने - मैले स्वामीलाई यहाँको बारेमा केही बताउनुपर्दैन, केही खबर भन्नुपर्दैन, उहाँ सर्वज्ञ हुनुहुन्छ, सबै जान्नुहुन्छ।" भगवान् बाबा वास्तवमा नै सर्वज्ञ सर्वव्यापी हुनुहुन्छ। हर देश का भक्तहरू उहाँलाई आफ्ना देशमा निम्त्याउनका लागि सदा लालायित रहन्थे, तर यो भौतिक देहसाथ बाबाले एउटै मात्र विदेश यात्रा गर्नुभयो, त्यो हो पूर्वी अफ्रिकाको भ्रमण। १२ मई १९६८ को दिन भगवानले बम्बईको एउटा सुरम्य स्थलमा वास्तुकला र शिल्पकौशलकै एक अद्वितीय उदाहरणस्वरूप साई परिवारको अंतरराष्ट्रीय केन्द्र 'कुरुक्षेत्र' का उद्घाटन गर्नुभयो। १८ पत्रदल भएको कमलको आकारमा निर्मित त्यो भवन अत्यन्त सुन्दर र भव्य छ तथा मन्दिरको नामकरण गरिएको छ 'सत्यदीप'। यो उद्घाटनपछि १६ मई १९६८ को दिन धर्म क्षेत्रमा अखिल भारतीय विश्व सम्मेलन आरम्भ हुन गइरहेको थियो। संसारकै इतिहासमा यो प्रथमचोटि थियो कि एक अवतार र भक्तहरूको विश्वसम्मेलन सम्पन्न भइरहेथ्यो स्वयं अवतारको उपस्थिति, सर्वेक्षण र निर्देशनमा। संसारका दिग्गज र प्रतिष्ठित व्यक्तित्वहरु यस सम्मेलनमा उपस्थित थिए, नाम मात्र उल्लेख गर्नु हो भने प्रमुख यसप्रकार छन् - मोरारजी देसाई, भी.के गोकक, पी.के. सावंत, हवार्ड मर्फेट, टाइटमेन जोहानेसन, नल्लाइनाथन, डा. सी.जी. पटेल, इन्दिरादेवी, श्रीमती ओसर्बन, चार्ल्स पेन, श्री भा, डा. कन्हैयालाल मणिकलाल मुंशी इत्यादि लगायत धेरै व्यक्तित्व हरू साथै केही धार्मिक आध्यात्मिक विद्वान, चिन्तक र गुरुहरू।
२९ जूनमा बम्बई साई भक्तहरूले धर्मक्षेत्रमा एक महत्त्वपूर्ण सभाको आयोजन गरे अनि त्यसै सभाद्वारा बाबाले पूर्वी अफ्रिका यात्राका लागि बिदा लिनुभयो। भोलिपल्ट ३० जूनको दिन बाबाले यात्रा आरम्भ गर्नुभएको त्यसै बोइड विमान ५९० भित्र पनि यात्रा अवधि बाबाका कैयौँ महिमाहरू प्रदर्शित भए। बब रेमर साथै केही आफ्ना विशेष अनुगामीहरूको साथमा प्रो. नारायण कस्तुरी पनि यस यात्राका सहभागी थिए। दुःख र विपद पनि कस्तुरीका लागि अति प्रिय थियो यदि यस विपदकालमा स्वामीको सान्निध्य प्राप्त हुन्छ भने। पूर्वी अफ्रिका यात्राबाट १४ जुलाईको दिन स्वदेश फर्कनुभयो बाबा तर १२ जुलाईको दिन भ्रमणको समय मोटर दुर्घटनामा परे कस्तुरीजी जसको वर्णन रोचक हृदयग्राही ढङ्गले गरेका छन् उनले जस्तो कि यो कुनै प्राणघातक दुर्घटना नभएर कुनै एउटा सुन्दर र सुखद घटना हो। त्यस दिन बाबा पूर्वी अफ्रिकाको मुर्चिसन प्रपात राष्ट्रिय उद्यान हेर्न गइरहनुभएको थियो, पछि पछि थियो नारायण कस्तुरीसहित चारजना यात्रा गरिरहेको अर्को कार। अपूर्व प्राकृतिक सौन्दर्यले भरिएको स्थानमा यो यात्रा यति रोमांचक थियो कि कारका चालक अति नै उत्साहित भई तीव्रगतिमा कार चलाइरहेका थिए, फलतः कार निकै धर्मराइरहेको थियो। बाबा उनीहरूभन्दा ३० माइलअघि मसिण्डी भन्ने ठाउँमा पुगिसक्नु भएको थियो र त्यहाँका मानिसहरूलाई भन्दै हुनुहुन्थ्यो - "मेरो पछि आउने कारमा गड़बड़ी आएको छ अब उनीहरू यहाँसम्म अर्कै कारमा आउनेछन्।"
एउटा मोड़मा आइपुगेर कस्तुरीजी बसेको कार अचानक असन्तुलित भई जोरसंग अडियो। चालक र अन्य केही छतमा ठोकिए, भुइँमा पछारिए। अघिको सीट र भत्किएको छतबीच चेप्टिएका थिए कस्तुरी र एकजना सहयात्रीमाथि लड़ेका थिए जसको कमीज उनको निधारबाट बहेको रगतले भीजिरहेको थियो। पछिबाट आएको एउटा कारको चालकले उद्धार गरे उनीहरूलाई। ठीक एउटा अस्पतालको नजिक भएको रहेछ त्यो दुर्घटना। ती चालकले अस्पतालमा लगेर सबैको चिकित्सा गराइदिए। कस्तुरीको निधारबाट निरन्तर रगत बहिरहेथ्यो र चश्मा फुटेर चोट परेकोले आँखामा नीलडाम बसेको थियो। उनका शिरमा र देब्रे पाउमा पनि चोट लागेको थियो। त्यही तेस्रो कारले घाइतेहरू सबैलाई बाबा भएका ठाउँ मसिण्डीको 'परा लज' पुयाइदियो। पुग्नासाथ बाबा उनीहरूतर्फ अघि बढेर आउनुभयो र पीठ थप्थपाइदिंदै आफ्ना अजस्र प्रेम खन्याइदिनुभयो। असीम स्नेहसाथ उहाँले सर्वरोग हरण गरिदिने विभूति सिर्जना गरेर सबैका चोटमा लगाइदिनुभयो। आफ्नो निजी रूमाल झिकेर कस्तुरीको आँखामा पट्टी को रूपमा बाँधि दिनुभयो। त्यो जङ्गलमा थाहा छैन कहाँबाट बाबाको हातमा मलम र ट्याबलेटहरू आए। कस्तुरीको जुन ठाउँमा सुनिएको थियो, दुखाई थियो त्यहाँ आफ्ना हातले सुस्तरी सुस्तरी मसारिदिनुभयो, औषधी लगाइदिनुभयो। हर्षले विभोर भए कस्तुरी। बाबाको यस करुणा वर्षा सन्दर्भमा लेखेका छन् उनले - "मलाई तानेर स्वामीले छातीमा लगाउनुभयो, सान्त्वना दिनुभयो। यति शक्ति प्रदान गर्नुभयो मलाई, ता कि म त्यस दुर्घटनाको प्रभावबाट बाहिर निस्कन सकुँ। त्यस मार्गमा तेजगतिमा कार चलाउने ड्राइभरप्रति हृदयबाट नै आभारी छु म, उसलाई सही धन्यवाद दिन्छु जसले गर्दा नै मलाई यस दैविक स्नेह र माधुर्यको अद्वितीय वरदान प्राप्त भयो।" दुर्घटना भएको त्यस स्थानको नाम थियो नक्कासोला। यो पनि लेखेका छन् कस्तूरी ले "म चाहन्छु कि कुनै दिन त्यस स्थानमा गई एउटा ढुङ्गा गाड़ेर त्यसमाथि लेखु- यहाँ चारजना मानिसले 'साईराम'को उच्चारण गरे अनि उनीहरू मर्नदेखि बाँचे।"
सम्पूर्ण निधारभरि विभूति लगाउने पातले, अग्ले श्री कस्तुरी हेर्दा नै एक आध्यात्मिक साधक देखिन्थे। एक अवतारको संसर्ग सम्बन्धमा कति कति सुन्दर अनुभवहरू पनि थिए उनीसँग। बाबाले बेला बेला बढ़ो विनोद पनि गर्नु हुन्थ्यो कस्तुरीसँग। भक्तहरूलाई जब छुट्टै कोठामा दर्शन र अन्तर्वार्ता को सौभाग्य दिन हुन्थ्यो स्वामीले, झुण्डसँगै पसेर सबैभन्दा पछि बसेर त्यस पलको आनन्द उठाउँथे कस्तुरी। बीचमा नै ठट्टा गर्दै भन्नुहुन्थ्यो स्वामीले - "तिम्रो निधारको विभूति टाडोबाट निधारमा ब्याण्डेज बाँधेको जस्तो देखिँदैछ, अघि आएर बस।" कहिले विशाल भक्त समूहमा तेलुगु भाषामा बाबा का दिव्य सम्भाषणको अङ्ग्रेजीमा अनुवाद गर्दा गर्दै गल्ती समात्नुहुन्थ्यो या गोष्ठीहरूमा काव्यवाचन बेला आफ्नो आसनमा बसी बसी जिस्काउनुहुन्थ्यो।
यसरी स्वामीका प्रियपात्र थिए प्रो. कस्तूरी। विनम्र, अहंकारशून्य, साईसेवक नारायण कस्तुरी यतिका वर्षहरू साथ रहेर पनि पलपल साई ममताका लागि तृषित रहे र त्यस मार्गमा आफूलाई पूर्ण न्यौछावर गरी केवल साईकै भएर रहे। अन्तिम कालमा अस्वस्थ भएर प्रशान्तिको जनरल अस्पतालमा भर्ना गराईएको थियो उनलाई। कहिले अर्धचेतन र कहिले अचेतन अवस्थामा बिस्तारै परलोकतर्फ अघि बढिरहेथे कस्तुरी। बाबा यसैबीच अस्पताल पुग्नु भयो र उनको पलङ्गछेउ गई उही ममताले भिजेको स्वरमा 'कस्तुरी...!' भनेर बोलाउनुभयो। त्यो स्वर सुनेर कस्तुरीले आँखा उघारे, आफ्ना प्रिय भगवान्लाई देख्नसाथ उनको मुहार प्रदीप्त भइउठ्यो। बाबाले विभूति सिर्जना गरेर मुखमा हालिदिनुभयो र भन्नुभयो- "केवल मलाई सम्झ कस्तुरी, अतीत तथा अन्य केही कुरा पनि नसम्झ।"
चरम सन्तुष्टिसाथ उनले आँखा बन्द गरे। स्वामी त्यहाँबाट निस्किनुभएको एक घण्टापछि कस्तुरीले अन्तिम निःश्वास त्याग गरे। सन् १९८७ को १४ अगस्त को दिन थियो त्यो। एउटा नदी अथाह समुद्र मिलेर त्यहीं विलीन भएर गयो। भगवान् बाबासँग एकात्मा र अभिन्न दिव्यात्मन नारायण कस्तुरी बाबामा नै समाहित भइसकेका थिए।